विपद् प्रभावितको स्वास्थ्य उपचारका लागि आर्या फार्माल्यावले दियो ८२ लाखको औषधि
काठमाडौं । आर्या फार्माल्याव प्रा.लि.ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको औषधि सहयोग गरेको छ। हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र स्वास्थ्य उपचारका लागि आवश्यक औषधि उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत उपचार सेवा प्रदान गर्न ८२ लाख ५१ हजार ७५० रुपैयाँ मूल्यबराबरका औषधिहरू सहयोगस्वरूप उपलब्ध गराइएको हो।
विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र आवश्यक औषधिमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ। स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायसम्म औषधि र उपचार सेवा पुर्याउन यो सहयोग महत्वपूर्ण हुने विश्वास कम्पनीले लिएको छ।
आर्या फार्माल्यावले प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि आगामी दिनमा थप सहयोग आवश्यक परे उपचारमा आवश्यक उपकरण तथा औषधिसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनर्स्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
विपद्को यस कठिन घडीमा आर्या फार्माल्यावले प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।
