अधिकृत बन्ने सपना बोकेका आयुष, पहिलो पोष्टिङमै अस्ताए [फोटो-फिचर]
चितवन। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेका सल्यानका २१ वर्षीय आयुष खड्काको अधिकृत बन्ने सपना अधुरै रह्यो।
पहिलो पोष्टिङमै रसुवाको टिमुरे पुगेका उनी सेवा प्रवेश गरेको पाँच महिनामै भोटेकोशीको विनाशकारी बाढीमा परेर ज्यान गुमाउन पुगे ।
स्नातक तहको परीक्षा दिन दुई दिनपछि गृहजिल्ला सल्यान जाने तयारीमा रहेका आयुष भदौ १० गते बिहान आएको बाढीमा परेका थिए । बाढीमा बेपत्ता भएका उनको शव पाँच दिनपछि फेला परेको थियो ।
शव बिग्रँदै गएकाले गृहजिल्लासम्म लैजान सम्भव नभएपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमा उनको अन्त्येष्टि गरिएको काका रमेश खड्काले बताए ।
बागचौर नगरपालिका–१० पिपलनेटा घर भएका आयुष खड्का परिवारका जेठा छोरा थिए । गत वैशाखमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि उनको पहिलो पोष्टिङ रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा भएको थियो ।
सरकारी सेवामा प्रवेश गरे पनि आयुषको लक्ष्य त्यतिमै रोकिएको थिएन । उनी अधिकृत बन्ने तयारीमा थिए । परिवारले पनि जागिरसँगै पढाइ अघि बढाउन सुझाव दिएपछि उनी रसुवा पुगेका थिए ।
‘पढ्नमा साह्रै रुचि राख्थ्यो । खरिदार हुँदिनँ, म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ काका रमेशले सम्झिए ।
रसुवाको पोष्टिङमा आयुषको खासै रुचि नभए पनि परिवारको सल्लाहपछि उनी जिम्मेवारी सम्हाल्न त्यहाँ पुगेका थिए । परीक्षा दिन भदौ १६ गते घर जाने योजना बनाएका उनले त्यसअघि भदौ १२ गते काठमाडौं आउने तयारी गरेका थिए ।
तर, घर फर्कने तयारीकै क्रममा आएको बाढीले उनको जीवन नै खोसिदियो ।
आयुषको परिवारमा बुवा, आमा र बहिनी छन् । छोरा बाढीमा परेको खबर सुनेपछि आमा मुना बेहोस भएकी थिइन् । सोमबार देवघाटमा छोराको अन्तिम संस्कार भइरहँदा पनि उनी सम्हालिन सकेकी थिइनन् ।
भाइको अन्तिम संस्कारमा बहिनी आयुषासमेत अर्धमूर्छित बनेकी थिइन् । आफन्तहरूले उनलाई सम्हाल्दै थिए ।
सरकारी सेवामा प्रवेश गरेको पाँच महिनामै आयुषको जीवनको यात्रा टुंगियो । अधिकृत बन्ने सपना बोकेर रसुवा पुगेका उनी अन्ततः परिवार र आफन्तको आँसुबीच देवघाटमा बिदाइ भए ।














