बादशाह र ईशा रिखीले गरे सम्बन्ध विच्छेद
काठमाडौं। भारतीय र्यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह भएको पाँच महिनामै सम्बन्ध विच्छेद गरेका छन्।
सोमबार राति आ-आफ्नो इन्स्टाग्राममार्फत दुवैले सम्बन्धबाट अलग भएको जानकारी दिएका हुन्।
बादशाहले आफूहरूबीचको निर्णय आपसी सहमतिमा भएको बताएका छन्। उनले अहिलेको अवस्थामा आफ्नो निजी जीवनको सम्मान गरिदिन आग्रह गर्दै सम्बन्धबारे थप अनुमान नगर्न प्रशंसक तथा सञ्चारमाध्यमलाई अनुरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमा आफू र ईशा एकअर्काप्रति सम्मान कायम राख्दै आ-आफ्नो बाटोमा अघि बढेको उल्लेख गरेका छन्।
सम्बन्धविच्छेदबारे यही नै आफूहरूको पहिलो र अन्तिम धारणा भएको भन्दै थप टिप्पणी वा अड्कलबाजी नगर्न उनले आग्रह गरेका हुन्।
ईशाले पनि बादशाहको पोस्ट आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन्। पछिल्ला केही सातादेखि दुवैबीच सम्बन्धमा समस्या आएको चर्चा चल्दै आएको थियो।
ईशा रिखी पञ्जाबी फिल्म उद्योगमा परिचित अभिनेत्री तथा मोडल हुन्। उनले सन् २०१३ मा ‘जट्ट ब्वाय पुट जट्टा दी’बाट अभिनय यात्रा सुरु गरेकी थिइन्।
त्यसपछि उनले ‘ह्याप्पी गो लक्की’, ‘बडे चेन्ज मेरे यार कमिने’, ‘ह्वाट द जट्ट’ र ‘अर्दास’ लगायतका पञ्जाबी फिल्ममा अभिनय गरिन्। सन् २०१८ मा ‘नवाबजादे’मार्फत बलिउडमा समेत प्रवेश गरेकी थिइन्।
बादशाह र ईशाबीच खटपट सुरु भएको चर्चा भने जुलाईदेखि नै सार्वजनिक हुन थालेको थियो। जुलाई २६ मा ईशाले बादशाहसँगका केही तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा राख्दै भावुक सन्देश दिएकी थिइन्।
त्यसपछि उनले अर्को पोस्टमार्फत लामो समय डरका कारण मौन बसेको तर अब आत्मसम्मानका लागि बोल्न थालेको संकेत गरेकी थिइन्। यी पोस्टपछि उनीहरूको सम्बन्धबारे विभिन्न अड्कलबाजी हुन थालेका थिए।
यसअघि जुन महिनामा इन्स्टाग्राममा आयोजित ‘आस्क मी एनीथिङ’ सेसनका क्रममा ईशाले बादशाहसँगको विवाहबारे पुष्टि गरेकी थिइन्। यद्यपि, विवाहपछि दुवैले आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा धेरै चर्चा गरेका थिएनन्।
बादशाहको यो पहिलो वैवाहिक सम्बन्धविच्छेद भने होइन। उनले यसअघि सन् २०१२ मा जस्मिन मसिहसँग पनि विवाह गरेका थिए। उनीहरूबाट सन् २०१७ मा छोरी जन्मिएकी थिइन्। तर सम्बन्धमा आएको दरारपछि सन् २०२० मा दुवै अलग भएका थिए।
