भोटेकोसी बाढी ‘नखाएको विष’, अन्तर्राष्ट्रिय मञ्चमा न्याय खोज्न रञ्जु दर्शनाको माग
काठमाडौं । भोटेकोसीमा आएको विनाशकारी बाढीलाई रञ्जु दर्शनाले नेपालको नियन्त्रणबाहिरको विपत्तिको गम्भीर परिणामका रूपमा चित्रण गरेकी छन् । उनले जलवायु परिवर्तनको असरका कारण नेपालजस्ता मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै अब अन्तर्राष्ट्रिय मञ्चमै जलवायु न्यायको आवाज उठाउनुपर्ने बताएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दर्शनाले भोटेकोसी बाढीले पुर्याएको क्षतिलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्रै हेर्न नहुने बताइन् । उनका अनुसार जलवायु परिवर्तनको असरबाट नेपालले भोगिरहेको क्षतिले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्नुपर्ने अवस्था आएको छ ।
‘भोटेकोसीको बाढी र यसले पुर्याएको क्षति हाम्रा लागि नखाएको विष लागेजस्तै भएको छ,’ उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण नेपालले ठूलो मूल्य चुकाउनुपरेको छ । अब चुप लागेर बस्ने होइन, अन्तर्राष्ट्रियस्तरमै जलवायु न्यायको विषय उठाउनुपर्छ।’
दर्शनाले विपत्तिपछि सरकारले थालेको उद्धार, राहत र पुनर्स्थापनाको कामबारे पनि संसदबाट जवाफ मागिन् । प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सरकारसँग स्पष्ट योजना हुनुपर्ने उनको भनाइ छ ।
‘सरकारको ठोस तयारी के छ ? पीडितहरूले कहिलेसम्म राहत पाउँछन् ?’ भन्दै उनले विपद्पीडितलाई राहत पुर्याउने विषयमा सरकारले अविलम्ब जवाफ दिनुपर्ने बताइन् ।
उनले विपद् आएपछि उद्धारमा मात्रै केन्द्रित हुने पुरानो शैली बदल्नुपर्ने बताउँदै जोखिम न्यूनीकरण र पूर्वतयारीमा समेत राज्यले लगानी बढाउनुपर्नेमा जोड दिइन् ।
सांसद दर्शनाले प्रभावित क्षेत्रको पुनर्स्थापनालाई तत्कालको राहतमा सीमित नगर्न सरकारलाई आग्रह गरिन् । भविष्यमा यस्तै प्रकृतिका विपत्तिबाट हुने क्षति घटाउन दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ ।
उनले भोटेकोसी बाढीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न नेपालले उपलब्ध सबै कूटनीतिक र अन्तर्राष्ट्रिय माध्यम प्रयोग गर्नुपर्ने बताइन् ।
‘हामीले सकेसम्म छिटो र धेरै माध्यमबाट यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ, ताकि भविष्यमा यस्तो क्षति बेहोर्न नपरोस्,’ उनले भनिन् ।
उनका अनुसार जलवायु परिवर्तनको असर सबैभन्दा बढी भोग्ने तर त्यसमा योगदान तुलनात्मक रूपमा कम भएका मुलुकका रूपमा नेपालले अन्तर्राष्ट्रिय तहमा आफ्नो क्षति र न्यायको माग बलियो ढंगले उठाउनुपर्ने समय आएको छ।
