दुई महिनामै १ लाख ३० हजार नेपाली विदेशिए
काठमाडौं । रोजगारीको खोजीमा विदेश जाने नेपालीको लर्को रोकिएको छैन। चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामै १ लाख ३० हजार ४८३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका हुन्।
साउनको तुलनामा भदौमा विदेश जानेको संख्या १० हजार ३९९ ले घटेको छ।
भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला छन्।
त्यसमध्ये ३५ हजार ६२७ जनाले पहिलोपटक नयाँ श्रम स्वीकृति लिएका छन्। २४ हजार ४१५ जना भने बिदामा नेपाल फर्किएर पुनः रोजगारीमा जान लागेका हुन्।
नेपाली श्रमिकको प्रमुख गन्तव्यमा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा छ।
भदौमा मात्रै यूएई जान १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसमा १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिला छन्।
कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन्।
रोमानियाका लागि १ हजार ७९३, जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले श्रम स्वीकृति पाएका छन्।
दक्षिण कोरिया जानेको संख्या ९०३ छ। त्यसमध्ये ७८९ जना सरकारी प्रक्रियाबाट जाने श्रमिक हुन्।
जिल्लागत हिसाबले मधेस र कोशी प्रदेशका जिल्लाबाट विदेश जानेको संख्या बढी देखिएको छ।
भदौमा सबैभन्दा धेरै धनुषाका ३ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन्।
झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन्।
हिमाली जिल्लाबाट भने विदेश जानेको संख्या निकै कम छ। मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्रै श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष श्रमिकको संख्या आधाभन्दा बढी छ।
विभागका अनुसार भदौमा श्रम स्वीकृति लिनेमध्ये ५६.९ प्रतिशत अर्थात् ३४ हजार १६७ जना दक्ष श्रमिक छन्।
त्यस्तै १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष जनशक्ति छन्।
नयाँ श्रम स्वीकृति लिने ३५ हजार ६२७ जनामध्ये २५ हजार ४१५ जना म्यानपावर कम्पनीमार्फत र ९ हजार २२४ जना व्यक्तिगत प्रक्रियाबाट विदेश जान लागेका छन्।
दुई महिनाको तथ्यांकले रोजगारीका लागि विदेशिने नेपालीको संख्या अझै ठूलो रहेको देखाएको छ। भदौमा केही कमी आए पनि वैदेशिक रोजगारीप्रतिको निर्भरता भने घटेको देखिँदैन।
