`

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

Nepal One HD ५ असोज २०८३ ७:३९
समाचार

गण्डकी। गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४० पुरुष र १६ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

प्रतिवादीबाट ११ वर्ष तीन महिना २७ दिन कैद र रु २२ लाख ८९ हजार १७५ बिगो असुलउपर भएको उहाँको भनाइ छ । चेक अनादर, बिगो लेनदन, बैंकिङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ। गत साउनमा ६७ जना फरार प्रतिवादी पक्राउ परेका थिए ।कार्यालयले गत महिना चालु मुद्दामा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

भदौमा अपराधसँग सम्बन्धित १६४ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका नौ, आर्थिक अपराधका १७ र अन्य अपराधसँग सम्बन्धित ११८ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *