६४ प्रकाश वर्ष परको ग्रहबाट आयो रहस्यमय रेडियो सङ्केत
काठमाडौं । पृथ्वीबाट ६४ प्रकाश वर्ष टाढा रहेको एउटा विशाल ग्रहले वैज्ञानिकलाई ‘आफ्नो खबर’ पठाएको छ।
खगोलविद्हरूले सौर्यमण्डल बाहिर रहेको ‘बिटा पिक्टोरिस बी’ नामक ग्यास विशाल ग्रहबाट पहिलोपटक प्रत्यक्ष रेडियो सङ्केत पत्ता लगाएका छन्। बाह्यग्रहबाट आएको रेडियो तरङ्गको स्रोत स्वयं ग्रह नै हो भनेर पुष्टि भएको यो पहिलो घटना मानिएको छ।
तर यसको अर्थ कुनै एलियन सभ्यताले पृथ्वीतर्फ सन्देश पठाएको भने होइन।
वैज्ञानिकहरूका अनुसार ग्रहको शक्तिशाली चुम्बकीय क्षेत्र र वायुमण्डलबीच हुने अन्तरक्रियाबाट उत्पन्न ओरोरा प्रक्रियाका क्रममा रेडियो तरङ्ग निस्किएको हो।
यसअघि पनि बाह्यग्रह प्रणालीबाट रेडियो सङ्केतहरू पत्ता लागेका थिए। तर ती सङ्केत ग्रहबाट आएका हुन् वा ग्रहले परिक्रमा गर्ने ताराबाट भन्ने छुट्याउन वैज्ञानिकहरूलाई कठिन हुँदै आएको थियो।
यसपटक भने त्यो अन्योल हटेको छ।
हार्वर्ड एन्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका केभिन ओर्टिज सेबालोस नेतृत्वको टोलीले दक्षिण अफ्रिकामा रहेको मिरक्याट रेडियो टेलिस्कोप प्रयोग गरेर बिटा पिक्टोरिस प्रणालीको अध्ययन गरेको थियो।
अनुसन्धानका क्रममा वैज्ञानिकहरूले उक्त प्रणालीबाट पटकपटक कमजोर रेडियो सङ्केत प्राप्त गरे। तर सङ्केतको वास्तविक स्रोत पहिचान गर्नु चुनौतीपूर्ण थियो।
त्यसका लागि अनुसन्धानकर्ताहरूले रेडियो तस्बिरलाई टाढा रहेका क्वासारको निश्चित अवस्थासँग तुलना गरे। यसले तारा र ग्रहको स्थान अत्यन्तै सटीक रूपमा छुट्याउन सहयोग गर्यो।
अन्ततः नतिजा स्पष्ट भयो। सङ्केत ताराबाट होइन, बिटा पिक्टोरिस बी ग्रहबाटै आएको थियो।
यो खोजले ग्रहको चुम्बकीय क्षेत्रबारे पनि महत्वपूर्ण जानकारी दिएको छ।
वैज्ञानिकहरूको गणनाअनुसार रेडियो तरङ्ग उत्पन्न भएको क्षेत्रमा बिटा पिक्टोरिस बीको चुम्बकीय क्षेत्रको शक्ति कम्तीमा १ हजार २५० गौस रहेको छ। यो बृहस्पतिको चुम्बकीय क्षेत्रभन्दा निकै शक्तिशाली हो।
चुम्बकीय क्षेत्र र वायुमण्डलबीचको अन्तरक्रियाका क्रममा उच्च ऊर्जाका कणहरू चुम्बकीय क्षेत्रका रेखा पछ्याउँदै ग्रहको वायुमण्डलमा प्रवेश गर्छन्। यही प्रक्रियाले ओरोरा र त्यससँग सम्बन्धित रेडियो तरङ्ग उत्पन्न गर्न सक्छ।
पृथ्वीको ध्रुवीय क्षेत्रमा देखिने ‘नर्दर्न लाइट्स’ अर्थात् अरोरा पनि यस्तै चुम्बकीय प्रक्रियासँग सम्बन्धित प्राकृतिक घटना हो।
यस खोजको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको बाह्यग्रहको चुम्बकीय क्षेत्रबारे प्रत्यक्ष संकेत प्राप्त हुनु हो।
यसअघि बाह्यग्रहको चुम्बकीय क्षेत्रबारे वैज्ञानिकहरू अनुमान र अप्रत्यक्ष प्रमाणमा निर्भर थिए। तर बिटा पिक्टोरिस बीबाट आएको रेडियो सङ्केतले यसको चुम्बकीय वातावरण अध्ययन गर्ने नयाँ बाटो खोलेको छ।
यसबाट बाह्यग्रहको आन्तरिक संरचना, वायुमण्डल र चुम्बकीय क्षेत्रबीचको सम्बन्ध बुझ्न पनि सहयोग पुग्ने वैज्ञानिकहरूको अपेक्षा छ।
बिटा पिक्टोरिस बी आफैंमा पनि असाधारण ग्रह हो। यो विशाल ग्यास ग्रह हो र यो रहेको ग्रह प्रणाली तुलनात्मक रूपमा युवा मानिन्छ।
अब वैज्ञानिकहरूको ध्यान अर्को प्रश्नतर्फ मोडिएको छ। के यस्तै रेडियो सङ्केत अरू बाह्यग्रहबाट पनि आउँछन्?
यदि अन्य ग्रहबाट पनि यस्ता सङ्केत पत्ता लागे भने बाह्यग्रहको चुम्बकीय क्षेत्र अध्ययन गर्ने नयाँ विधि विकास हुन सक्छ।
