मेरो निलो आकाश, उनको नीलो बुर्का
उही आकाशमुनि, कतै एउटी महिला छिन्। मलाई उनको नाम थाहा छैन। उनको हाँसो कस्तो सुनिन्छ, थाहा छैन।
उनले ऐनामा आफूलाई हेर्दा कहिल्यै आफ्नो भविष्य कस्तो होला भनेर सोचेकी थिइन् कि थिइनन्, थाहा छैन।
उनले कुन किताब पढ्न चाहन्थिन्, के बन्न चाहन्थिन्, कसलाई प्रेम गर्न चाहन्थिन् केही थाहा छैन।
तर यति थाहा छ, उनी मभन्दा फरक छैनन्।
उनीसँग पनि सपना देख्ने आँखा छन्। केही बन्न चाहने मन छ। माया गर्न सक्ने मुटु छ। आफ्नो जीवन आफ्नै हातले लेख्न सक्ने क्षमता छ। फरक यति मात्र हो, मलाई मेरो भविष्य रोज्ने अधिकार दिइएको छ। उनीलाई आफ्नो भविष्यको कल्पना गर्नुअघि नै त्यसको सीमा तोकिएको छ।
सायद उनी पनि कहिल्यै विद्यार्थी बन्न चाहन्थिन्। सायद डाक्टर, शिक्षिका, लेखिका बन्न चाहन्थिन्। सायद उनको सपना त्यति ठूलो पनि थिएन। सायद उनी घरबाट निस्केर स्वतन्त्र रूपमा हिँड्न चाहन्थिन्। सायद उनि आफ्नो अनुहार संसारलाई देखाउन चाहन्थिन्।
आफ्नो कमाइ आफ्नै हातले समात्न चाहन्थिन्।
कुनै पुरुषको अनुमति नलिई आफ्नो जीवनबारे एउटा निर्णय गर्न चाहन्थिन्।
तर बिस्तारै उनका अगाडि ढोकाहरू बन्द हुँदै गए।
उनको क्षमता घटेर होइन। उनका सपना साना भएर होइन। उनको बुद्धि कम भएर होइन।
उनी महिला भएर। कति भयावह छ, एउटी महिलाको जन्म नै उसको सम्भावनाको सजाय बन्नु।
म यहाँ आफ्नो भविष्यको चिन्ता गरिरहेकी हुन्छु। कुन विषय पढूँ? कहाँ जाऊँ? के बनूँ? मेरो जीवन कस्तो होला? र त्यही समयमा, उही आकाशमुनि, अर्की एउटी महिला आफ्नो भविष्य बनाउने अधिकारका लागि नै मौन युद्ध लडिरहेकी हुन सक्छिन्।
मलाई पढाइ कहिलेकाहीँ बोझ लाग्छ। उनलाई पढ्न पाउनु नै सपना हुन सक्छ। म आफ्नो लुगाबारे सोचिरहेकी हुन्छु। उनीलाई आफ्नो शरीरमाथिको अधिकार नै खोसिएको हुन सक्छ।
म कसलाई प्रेम गर्ने भनेर सोच्न सक्छु। उनीले कसलाई प्रेम गर्ने भन्ने निर्णयसमेत आफ्नो हातमा नरहेको हुन सक्छ।
हामी दुवैले एउटै चन्द्रमा देख्छौँ। तर एउटै चन्द्रमामुनि पनि स्वतन्त्रताको अर्थ यति फरक हुन सक्छ। कहिलेकाहीँ सोच्दछु, विशेषाधिकार भनेको सधैँ धेरै पाउनु मात्र रहेनछ।
कहिलेकाहीँ विशेषाधिकार भनेको तिमीबाट केही खोसिएको नहुनु रहेछ। पढ्न पाउनु।
बोल्न पाउनु। काम गर्न पाउनु। बाहिर निस्कन पाउनु। आफ्नो शरीरमाथि आफ्नो अधिकार हुनु। आफ्नो भविष्य आफैँ रोज्न पाउनु।
यी सबै कुरा हामीमध्ये धेरैका लागि यति सामान्य भइसकेका छन् कि हामीले तिनलाई स्वतन्त्रता भनेर सम्झनै छोडिसकेका छौँ। सायद यही नै सबैभन्दा डरलाग्दो कुरा हो, हामीले स्वतन्त्रतालाई सामान्य जीवन सम्झन थालेका छौँ।
र कतै, अफगानिस्तानको कुनै घरभित्र, एउटी महिला उही मानव क्षमता बोकेर बसिरहेकी छिन्। सपना देख्ने क्षमता। प्रेम गर्ने क्षमता। संसार बदल्ने क्षमता। तर उनको संसारले उनलाई बारम्बार सम्झाइरहेको छ, तिमीले कति सपना देख्न पाउँछौ, त्यो पनि तिम्रो निर्णय होइन।
म उनलाई ‘बलियो महिला’ भनेर सम्बोधन गर्न चाहन्नँ। किनकि कहिलेकाहीँ ‘बलियो’ भनिनु पनि पीडालाई सुन्दर शब्दले ढाकिदिनु जस्तो लाग्छ।
कुनै महिलाले बाँच्नका लागि असाधारण साहस देखाउनुपर्ने संसार नै गलत हो।
एउटी महिलाले कक्षाकोठामा प्रवेश गर्न साहसी हुनुपर्ने होइन। आफ्नो जीवन रोज्न अनुमति माग्नुपर्ने होइन। आफ्नो अस्तित्वको औचित्य प्रमाणित गर्नुपर्ने होइन। उनले स्वतन्त्र हुन पाउनुपर्ने हो।
र मलाई सबैभन्दा धेरै सताउने कुरा यही हो, उनी म हुन सक्थिन्। यदि जन्मस्थान फरक भएको भए।
यदि सीमा केही किलोमिटर पर सारिएको भए। यदि भाग्यले मेरो नामको ठाउँमा उनको नाम लेखेको भए।
सायद आज म नै त्यो झ्यालभित्र बसेर बाहिरको संसार हेर्दै हुन्थेँ। सायद मेरा सपना पनि त्यहीँ कतै थुनिएका हुन्थे। त्यसैले आज आकाशतिर हेर्दा म आफूलाई भाग्यमानी भन्न सक्दिनँ।
किनकि मैले उनीभन्दा बढी स्वतन्त्रता कमाएको होइन। म त्यस्तो ठाउँमा जन्मिएँ जहाँ मेरो स्वतन्त्रतालाई अझै पूर्ण रूपमा खोसिएको थिएन।
र, उनी उही आकाशमुनि जन्मिइन्। उही मानव शरीर लिएर। उही सपना बोकेर। तर फरक संसारमा। उही आकाश। उही महिला। उही सपना। तर एउटा स्वतन्त्र। अर्की कैद।
र,कहिलेकाहीँ मलाई लाग्छ, हामीबीचको सबैभन्दा ठूलो फरक क्षमता होइन। म यस्तो ठाउँमा जन्मिएँ, जहाँ मेरो सम्भावनालाई अझै सम्भावना बन्न दिइयो।
र उनी….?
उनी पनि उही मानव क्षमता लिएर जन्मिइन्। उही प्रेम गर्ने हृदय। उही सिर्जना गर्ने हात। उही भविष्यको आकांक्षा। उही आकाशमुनि सपना देख्ने अधिकार। तर उनको जीवनले उनलाई आफ्नै सम्भावनाको शोक मनाउन बाध्य बनायो।
सायद यही संसारको सबैभन्दा ठुलो विडम्बना हो। दुई स्त्री। उही आकाश। उही चन्द्रमा। उही सपना देख्ने क्षमता। तर एउटीले आफ्नो भविष्य लेख्न पाई। अर्कीले आफ्नो भविष्यभन्दा पहिले बाँच्ने अधिकारको हिसाब गर्नुपर्यो।
र त्यसैले आज जब म आफ्नो जीवनका साना साना असन्तोषहरूसँग संघर्ष गर्छु, मलाई कहिलेकाहीँ एउटा अपरिचित स्त्रीको सम्झना आउँछ।
उनी, जो म हुन सक्थिन्।
र त्यसपछि बुझ्छु, हामी साँच्चिकै कति विशेषाधिकारप्राप्त छौँ। किनकि स्वतन्त्रता ठूलो कुरा होइन रहेछ। कहिलेकाहीँ स्वतन्त्रता भनेको आफ्नो जीवनबारे निर्णय गर्ने अधिकार मात्र रहेछ।
र संसारका केही स्त्रीहरू अझै त्यही अधिकारको प्रतीक्षामा छन्। उही आकाशमुनि। उही पृथ्वीमा। उही मानव भएर। तर आफ्नो जीवनको मालिक हुन नपाई।
