गुगललाई किन गरियो ४० करोड ३० लाख युरो जरिवाना?
काठमाडौं। आयरल्यान्डको डेटा संरक्षण आयोग (डीपीसी)ले प्रयोगकर्ताको लोकेसन डेटा प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको भन्दै गुगलमाथि ४० करोड ३० लाख युरो अर्थात् करिब ७० अर्ब ९२ करोड ८० लाख रुपैयाँ जरिवाना गरेको छ। यो आयरिस डेटा सुरक्षा निकायले लगाएको ठूलो जरिवानामध्ये एक हो।
गुगलको लोकेसन डेटा प्रयोगबारे डीपीसीले करिब ६ वर्षअघि अनुसन्धान सुरु गरेको थियो। युरोपका विभिन्न उपभोक्ता अधिकार संस्थाले गुगलविरुद्ध उजुरी गरेपछि अनुसन्धान अघि बढाइएको हो।
डीपीसीका अनुसार गुगलले लोकेसन डेटा प्रयोग गर्दा त्यससम्बन्धी प्रक्रिया कानुनी, निष्पक्ष र पारदर्शी नभएको अनुसन्धानबाट देखिएको छ। अनुसन्धानमा गुगलका ‘वेब एन्ड एप एक्टिभिटी’, ‘लोकेसन हिस्ट्री’ र ‘लोकेसन एक्युरेसी’ सेवामार्फत लोकेसन डेटा प्रयोग भएको विषय समेटिएको थियो। सन् २०१८ को मे २५ देखि २०२० को फेब्रुअरी ४ सम्मको अभ्यासलाई अनुसन्धानको दायरामा राखिएको थियो।
डीपीसीका उपआयुक्त ग्राहम डोयलले लोकेसन डेटाबाट व्यक्तिको गतिविधि र निजी जीवनसँग सम्बन्धित संवेदनशील जानकारीसमेत प्राप्त गर्न सकिने बताएका छन्। उनका अनुसार युरोपेली संघको जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)ले व्यक्तिगत डेटा कानुनी, निष्पक्ष र पारदर्शी रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ।
डीपीसीको निष्कर्षअनुसार गुगलले उक्त अवधिमा जीडीपीआरका केही प्रावधान पालना नगरेको पाइएको हो। जीडीपीआर सन् २०१८ को मे २५ देखि लागू भएको युरोपेली संघको व्यक्तिगत डेटा संरक्षणसम्बन्धी कानुन हो।
गुगलले भने डीपीसीको निर्णय पुराना नीतिसँग सम्बन्धित रहेको जनाएको छ। कम्पनीका अनुसार सन् २०१९ पछि लोकेसन डेटा व्यवस्थापनसम्बन्धी आफ्ना प्रक्रिया परिवर्तन गरिएका छन् र प्रयोगकर्तालाई डेटा नियन्त्रण गर्न थप उपकरण उपलब्ध गराइएको छ।
गुगलले खातामा रहेको डेटा निश्चित अवधिपछि स्वतः मेटिने ‘अटो-डिलिट कन्ट्रोल’ तथा व्यक्तिगत विज्ञापन व्यवस्थापन गर्ने सुविधासहित डेटा सुरक्षाका विभिन्न उपाय लागू गरिएको जनाएको छ। कम्पनीले लोकेसन डेटा र खाता सेटिङ्ससम्बन्धी जानकारी प्रयोगकर्तालाई सहज रूपमा उपलब्ध गराएर पारदर्शिता बढाइएको दाबीसमेत गरेको छ।
