दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा यस वर्षको दसैँ बिदाका समयमा १५ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्।
हेटौँडाको पहिचानका रूपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए।
दसैँको बिदामा हरेक वर्ष पर्यटकको चाप बढ्ने गरेको बताउँदै उनले विशेष गरी दसैँको टीकाको दिनपछि कोजाग्रत पूर्णिमासम्म दैनिक दुई हजारभन्दा बढी पर्यटक स्मारकमा आउने गरेको जानकारी दिए।
एउटै ढुङ्गामा इतिहासका विभिन्न कालखण्डमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेट्ने गरी १२ सहिद र ज्ञातअज्ञात सहिदका प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश गरिएको सहिद स्तम्भदेखि यहाँ रहेका मनमोहन बाटिका, जातीय सङ्ग्रहालय, चिडियाखाना आदि प्रमुख आकर्षणका रूपमा रहेका छन्।
त्यस्तै विभिन्न जनावर रहेका मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रीन हाउस, फोहोरासहितको पार्क आदिले यहाँको आकर्षण बढाएका छन्।
दसैँ बिदाको समयमा आउने पर्यटकलाई लक्षित गरी विजयादशमीका दिन पनि स्मारक खुला हुने जानकारी दिँदै लेखा अधिकृत बिडारीले वर्षको ३६५ दिन नै स्मारक खुल्ने गरेको बताए। दसैँ बिदा अवधिमा पर्यटकले प्रवेशका लागि काटेको टिकटबाट नौ लाख ३७ हजार ८६५ रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए।
