गौतम वंशको इतिहासदेखि भावी पुस्ताको भविष्यसम्म, पोखरा भेलाले गर्यो महत्त्वपूर्ण निर्णय
पोखरा । गौतम बन्धु राष्ट्रिय समाजको आयोजनामा एकदिने प्रादेशिक अन्तरक्रिया, कार्यशाला तथा गोष्ठी पोखरामा सम्पन्न भएको छ। गौतम वंशको इतिहास, पुर्ख्यौली पहिचान, मौलिक परम्परा तथा वंशावली संरक्षण गर्दै विश्वभर छरिएर रहेका गौतम बन्धुहरूलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजित कार्यक्रमले ६ बुँदे ‘राष्ट्रिय घोषणापत्र–पोखरा, २०८३’ जारी गरेको छ।
गौतम बन्धु राष्ट्रिय समाज केन्द्रीय कार्यालयको आयोजना तथा गण्डकी प्रदेश समन्वय समितिको सहआयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले गरेका थिए।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतम प्रमुख अतिथि तथा प्राध्यापक डा. कृष्णप्रसाद गौतम विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन गण्डकी प्रदेशका सचिव सूर्यप्रसाद गौतम ‘अनिश’ले गरेका थिए।
कार्यशालामा समाजका केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, सचिव तथा प्रतिनिधि, जिल्ला अध्यक्ष, सल्लाहकार, कानुनी सल्लाहकार, बौद्धिक व्यक्तित्व तथा समाजका अग्रजहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा गौतम वंशको ऐतिहासिक पहिचान संरक्षण, संगठनात्मक सुदृढीकरण, डिजिटल वंशावलीको अद्यावधिक, विधान संशोधन, आर्थिक तथा प्रशासनिक पारदर्शिता र भावी कार्ययोजनाका विषयमा व्यापक छलफल गरिएको थियो।
छलफलका क्रममा समाजको संस्थागत संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले विधान संशोधनसम्बन्धी प्रस्तावहरू पारित गरिएको आयोजकले जनाएको छ।
६ बुँदे पोखरा घोषणापत्र जारी
कार्यक्रमको प्रमुख उपलब्धिका रूपमा ६ बुँदे ‘राष्ट्रिय घोषणापत्र–पोखरा, २०८३’ जारी गरिएको छ।
घोषणापत्रमा डिजिटल वंशावलीको संरक्षण तथा अद्यावधिक, विधान संशोधन, संस्थागत कार्यविधि निर्माण तथा कार्यान्वयन, भावी कार्यक्रम र कार्ययोजना, संस्थागत एकता तथा विभिन्न गौतम संस्थाबीच समायोजन र सहकार्यलाई प्राथमिकता दिइएको छ।
त्यसैगरी, घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै गौतम बन्धुहरूको साझा इतिहास, सांस्कृतिक पहिचान र पुर्ख्यौली सम्पदालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने संकल्प गरिएको छ।
सातै प्रदेशमा महर्षि अत्रि स्तम्भ निर्माणका लागि पहल
कार्यक्रमले गोतामकोटमा निर्माणाधीन महर्षि अत्रि स्तम्भको बाँकी काम सम्पन्न गर्ने तथा यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वबारे प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाएको छ।
साथै, नेपालका सातै प्रदेशमा महर्षि अत्रि स्तम्भ निर्माणका लागि पहल गर्ने विषयलाई समेत घोषणापत्रमा समावेश गरिएको छ।
आयोजकका अनुसार यस्ता गतिविधिले गौतम वंशको इतिहास, सांस्कृतिक सम्पदा र पुर्ख्यौली पहिचान संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा केन्द्रीय कार्यालयले समाजको लोगो अंकित झोला, कोशी प्रदेशले लोगो अंकित टोपी, कर्णाली र बागमती प्रदेशले पहिचान झल्किने मायाको चिनो तथा लुम्बिनी प्रदेशले स्टेशनरी सामग्रीको व्यवस्था गरेका थिए।
कार्यक्रमले विभिन्न प्रदेशमा रहेका गौतम बन्धुहरूबीच आपसी समन्वय, सहकार्य र संगठनात्मक सम्बन्ध विस्तार गर्ने अवसरसमेत प्रदान गरेको आयोजकले जनाएको छ।
‘एकता हाम्रो शक्ति, इतिहास हाम्रो पहिचान, पारदर्शिता हाम्रो आधार र भावी पुस्ताको समृद्धि हाम्रो साझा लक्ष्य’ भन्ने संकल्पसहित कार्यशाला तथा गोष्ठी सम्पन्न भएको हो।
