`

राष्ट्रिय एकता र मौलिक संस्कृति निर्माणमा उर्जा प्रदान गर्न प्रधानमन्त्रीको आग्रह

Nepal One HD १ माघ २०७९ ९:०८
प्रमुख खबर

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्न सबै नेपालीलाईआग्रह गर्नुभएकाे छ ।

माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरूले मनाउने चाड माघे संक्रान्तिको अवशरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको भन्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताउनुभएको हाे ।

प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ :
थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरूले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढंगले मनाउने प्रचलनसमेत रहेको छ ।

माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि ताजा जनादेशको जगमा वर्तमान सरकार गठन भएको छ । सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको छ । प्रतिनिधिसभाबाट अभूतपूर्व विश्वासको मत प्राप्त गरेको वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ । यस अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन हार्दिक अपील गर्दछु ।

अन्तमा, यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’


प्रतिक्रिया