`

सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने उपराष्ट्रपति पुनको विश्वास

Nepal One HD १ माघ २०७९ ९:२८
प्रमुख खबर

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । माघेसङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास व्यक्त गरे । उनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उनले हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू रहेको बताए ।

उनले भने ‘विभिन्न समुदायमा मौलिकताका साथ मनाइने पर्वहरू नेपालीका साझा चाडपर्व हुन्, सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याल समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रूपमा मनाउने माघेसङ्क्रान्ति पर्वको प्रकृतिसँग मुख्य सम्बन्ध छ’

विभिन्न समुदायले आ–आफ्नो परम्पराअनुसार मनाउने यस पर्वले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गरेको उनले बताए ।


प्रतिक्रिया