बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय


हेटौँडा । कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौँडामा मंगलबार बिहान बसेको कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिएको हो ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।
बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागिको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिंदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
१ सय १० सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ । सत्ता साझेदार दलसँग बहुमत रहेको छ । बैठकले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतामा निर्वाचित बहादुर सिंह लामालाई बधाई दिने निर्णय गरेको छ ।