विमान दुर्घटनाका विषयमा जानकारी गराएर मात्र सदनको कार्यसूचीमा प्रवेश गर्न कांग्रेसको आग्रह


काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाका विषयमा सरकारको धारणा माग गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएको प्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका हुन् ।
लेखकले भने, ‘सम्माननीय सभामुख महोदय, एटीआर ७२ विमान सेती नदीको खोचमा परेर दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको अवस्था छ । ५३ नेपालीसहित ७२ जनाले ज्यान गुमाएका छन् । आन्तरिक हवाई यातायातमा अहिलेसम्मकै ठूलो क्षति भएको छ र देश शोकमा छ । अन्तराष्ट्रिय रूपमा पनि यसका प्रति चासो देखिएको छ धेरै शवहरू संकलन भएर पनि हस्तान्तरण नहुँदा आफन्त शोकमा आक्रोशित भएको अवस्था छ । यसले पर्यटन क्षेत्रलाई नराम्रो सन्देश छोडेको छ ।’
उनले यस्तो गम्भीर विषयमा सरकारले सदनलाई जानकारी दिनुपर्ने आवश्यकता समेत बोध गर्न नसकेको बताए ।