‘अब उद्योग दर्तासम्बन्धीका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ’ : उर्जा मन्त्री लिङदेन

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने बताएका छन् । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताएका हुन् ।
सरकारले लगानीमैत्री वातावरण बनाउने तयारी गरिरहेको उनको भनाई छ । उनले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापमा यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताएका हुन् । उनले देशभित्रका उद्योगी, व्यापारीलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे ।
उनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाए । उनले देशभित्रै उद्योगधन्दा बढी भन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताएका छन् । उनले आगामी दिनमा देशमा उद्योगधन्दाको व्यापक बिस्तार हुनुपर्ने बताए ।