को हुन् उपसभामुख बनेकी इन्दिरा राना ? अन्य सांसदभन्दा उनको पृष्ठभूमि कसरी भिन्न


सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना बहुमतले निर्वाचित भएकी छन्।शनिवार दिउसो प्रतिनिधिसभामा सांसदहरूबीच भएको मतदानमा उनले १६६ मत प्राप्त गरी नेपाली कांग्रेसकी उम्मेदवार मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन्।२७५ सदस्यहरू रहेको प्रतिनिधिसभाको शनिवारको बैठकमा कुल २६४ सांसद उपस्थित थिए।
उनलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ९७ मत खसेको थियो भने एकजना सांसद्ले मतदान प्रक्रियामा आफूलाई तटस्थ राखेका थिए।रानालाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका सत्ता गठबन्धनका दलहरूले समर्थन गरेका छन्।
नेपालको संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुई पदमा फरक फरक दलका व्यक्तिहरू हुनुपर्ने व्यवस्था गरेको छ।सभामुखमा माघ ५ गते नै नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्।
को हुन् इन्दिरा राना?
वाउन्न वर्षीया इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्।झापामा जन्मिएकी उनी पहिलो पटक सांसद बनेकी हुन्।राजनीतिमा आउनुअघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा परिचित अनुहार हुन्।उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेको छ।
उक्त योगदानका लागि बीबीसीले रानालाई सन् २०१७ मा बीबीसी १०० विमिन अर्थात् सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरूको सूचीमा राखेको थियो।उपसभामुखका लागि रानाको प्रस्तावक बनेकी उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले उनलाई ‘समाज रूपान्तरणको अथक प्रयासपछि निखारिएर राजनीतिमा आएको’ व्यक्तिको रूपमा परिचित गराएकी थिइन्।
३ दशकदेखि उक्त काममा संलग्न रहेको बताउने रानाले त्यस क्रममा जेलमा बस्नुपर्ने विवशतामा रहेका सयौँ बालबालिकाको उद्धार गरिएको बताउँछिन्।कोभिड महामारीका बेला उनले कैयौँ दिन आम्दानीको अभावमा भोका परेका सयौँ मानिसहरूलाई खानाको व्यवस्था गरेकी थिइन्।
उपसभामुखको भूमिका कस्तो हुन्छ?
सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नुपर्नेछ।नेपालको संविधानका अनुसार सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उठेमा त्यस उपरको छलफलमा त्यसको अध्यक्षता उपसभामुखले गर्नुपर्ने व्यवस्था गरेको छ।
त्यसैगरी प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्मा समेत उपसभामुख सदस्य रहने व्यवस्था संविधानले गरेको छ।राजनीतिक दलको उम्मेदवार भए तापनि पदभार ग्रहणपछि सभामुख र उपसभामुख दुवै राजनीतिक रूपमा तटस्थ हैसियतमा हुनेछन्।
हालसम्म को को महिला उपसभामुख र उपाध्यक्ष चुनिए
सांसद निर्वाचित भएको पहिलो कार्यकालमा नै राना उपसभामुख चुनिएकी हुन्।नेपालको संसदीय इतिहासमा एक पटक मात्रै महिलाले सभामुखको भूमिका पाएका छन् भने पटकपटक महिलाहरू विधायीकी निकायको उपसभामुख वा उपाध्यक्ष चुनिएका छन्।यसअघिका दुई उपसभामुख नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फे थिए।
सुरुमा संविधानसभाकी उपाध्यक्ष रहेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती संविधानसभाबाट संविधान जारी भएपछि रूपान्तरित प्रतिनिधिसभाको सभामुख बनेकी थिइन्।संविधानसभाको पहिलो कार्यकालमा माओवादीकी पूर्णकुमारी सुवेदी उपाध्यक्ष निर्वाचित भएकी थिइन्।
बहुदलीय व्यवस्था पुनर्बहाली भएपछि पहिलो पटक निर्वाचित प्रतिनिधिसभामा हाल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष रहेका महन्थ ठाकुर पहिलो पटक उपसभामुख बनेका थिए।संसद्को पहिलो महिला उपसभामुख लिलासुब्बा श्रेष्ठ हुन् जो नेकपा एमालेकी सांसद थिइन्।नेपाली काङ्ग्रेसकी नेतृ चित्रलेखा यादवले २०५६ सालदेखि २०६३ सालसम्म उपसभामुखको भूमिका निर्वाह गरेकी थिइन्।
यादव उपसभामुख रहँदै राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए। र दोस्रो जनआन्दोलनपछि पुर्नस्थापित संसद्मा उनको भूमिकाले निरन्तरता पाएको थिए। राष्ट्रिय सभाको उपाध्यक्षमा २०७४ साल चैतदेखि २०७८ साल फाल्गुनसम्म शशिकला दाहाल रहेकी थिइन्।
पहिलो राष्ट्रिय सभाको उपाध्यक्ष पनि महिला रहेको इतिहास छ।विक्रम संवत् २०१६ साल साउनदेखि २०१७ साल पुससम्म कमल राणा राष्ट्रिय सभाको उपाध्यक्ष रहेकी थिइन्। समाचार बीबीसी नेपालीबाट ।