`

जनतासामु गरेको वाचा पूरा गर्छु : उपप्रधानमन्त्री लिङ्देन

Nepal One HD ९ माघ २०७९ १६:५१
प्रमुख खबर

दमक / उपप्रधान एवम् ऊर्जा तथा जलश्रोत मन्त्री राजेन्द्र लिङ्देनले आफूले जनता र देशसामु गरेको वाचा कुनै बहाना नगरी काम गर्ने बताउनुभएको छ। लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफूले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो।

‘जितिसकेपछि आफूले गरेका प्रतिबद्धता र वाचा जनप्रतिनिधिले भुल्ने गरेको आरोप लाग्नेगरेको छ। तर म त्यो अवस्था आउन दिने छैन’ लिङ्देनले भन्नुभयो। आफूले गरेका प्रतिबद्धता र वाचा पूरा गरेर देखाउने उहाँले बताउनुभयो । आफूले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

राप्रपाका अध्यक्ष समेत रहनुभएका मन्त्री लिङ्देन सरकारमा सहभागी भएपछि पहिलो पटक आइतबार अपराह्न आफ्नो निर्वाचन क्षेत्रमा पर्ने हल्दिबारी गाउँपालिकाको गोल्धाप आउनुभएको छ। झापाको क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य लिङ्देनलाई पञ्चेबाजासहित नाँचगान गरेर क्षेत्र प्रवेश गराइएको थियो ।

आफ्नो क्षेत्र र मुलुकमा नै विकास निर्माणको युग सुरु भएको बताउनुभयो । लामो समयदेखि पछि परेको ग्रामीण क्षेत्रको विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताउँदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अब हाम्रो क्षेत्रमा विकास भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था आउने छैन र विकासको युगको सुरुवात भएको छ ।’

गोल्धापमा स्थानीयहरूसँग कुराकानी गर्दै लिङ्देनले यस क्षेत्रका जनताका कारण नै आफूले अहिलेको उपलब्धि हासिल गरेको भन्दै यस क्षेत्रको विकास नै आफ्नो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता पनि जनाउनुभयो ।


प्रतिक्रिया