सदनमा रामचन्द्र पौडेलको प्रश्न : ‘अब संविधान बचाउन कांग्रेस र कम्युनिस्ट एक ठाउँमा हुने कि नहुने ?’


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले संविधान र व्यवस्था जोगाउन कांग्रेस–कम्युनिस्ट एक ठाउँमा हुनु पर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संविधान फ्याँक्न अनेक प्रयत्न भएको भन्दै यसलाई जोगउनको लागि संबिधान बनाउनको निम्ती लडेका राजनितिक शक्तिहरु एक ठाउँमा हुने बेला आएको बताएका हुन् ।
‘उनले भने, ‘यो संविधान फ्याँक्न अनेक प्रयत्न भएको छ । यो व्यवस्था बचाउन र संविधान बचाउन कांग्रेस र कम्युनिस्ट एक ठाउँमा हुने किन नहुने ? अराजकता र अस्थिरता बचाउने कि नबचाउने ? अति दलबन्दी र पूर्वाग्रहबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । भित्री र बाहिर सत्ताको खेलबाट लोकतन्त्र खतरामा छ । हामी देश बनाउन एक ठाउँमा जुटौँ । आकाशबाट निराशाको बादल हटाउन एक बनौँ ।’
व्यवस्थामाथि असन्तुष्टिको घण्टी बजेको भन्दै उनले यसलाई मत्थर पार्न नेतृत्वको अभाव भएको बताए । राष्ट्रिय नेतृत्व र आत्मविश्वासको अभाव भएको भन्दै निष्ठाको राजनीति किनारा लागेको उनले उल्लेख गरे ।
पौडेलले २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको स्पष्टीकरण दिएका छन् । उनले आफू सकेसम्म दल विभाजन गर्न हुन्न भन्ने पक्षमा रहेको दावी समेत गरेका छन् ।