कोसी प्रदेशमा माओवादी र एमाले सहकार्य नटुट्ने, कांग्रेसकाे असन्तुष्टी


काठमाडौं – केन्द्रमा नयाँ समीकरणसँगै प्रदेश सरकारमा उथलपुथल देखिए पनि कोसी प्रदेशमा भने एमाले र माओवादीबीचको सहकार्य कायमै रहने देखिएकाे छ । दुईवटा प्रदेशमा मुख्यमन्त्री लिइसकेको र केहीमा साढे दुई वर्षपछि आलोपालो पाउने रोलक्रममै बसेको माओवादीले कोसीमा भने एमालेसँग मिलेरै सरकार चलाउन खेजेकाे हाे ।
माओवादी नेताहरु अंक गणितका कारण कोसी प्रदेशमा समीकरण परिवर्तन गर्न अप्ठेरो भएको बताउँछन् । ९३ सदस्यीय कोसी प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले छ । एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक मत छ ।
यहाँ बहुमतको सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । नयाँ समीकरणअनुसार सरकार बनाउन राप्रपाले साथ दिनुपर्ने हुन्छ । नभए माओवादीले सभामुख छाड्नुपर्ने हुन्छ ।
दुवै पक्षसँग स्पष्ट बहुमत नभएकोले तत्काल माओवादी केन्द्रले सरकारबाट हात झिक्न नमानेको हाे ।
लुम्बिनी र गण्डकी प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएको माओवादी कोसी सरकारबाट भने नहट्ने भएको छ । माओवादी कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टीले सरकार तत्काल नछाड्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा सरकार आलोपालो चल्ने घोषणा गरिसकेका छन् ।
उनकै निर्देशन मानेर लुम्बिनी र गण्डकी प्रदेशबाट माओवादी मन्त्रीहरू बाहिरिसकेका छन् । तर कोसीमा भने माअाेवादीहरु सरकार नछाड्ने मनस्थितिमा छन् । प्रचण्डलाई कांग्रेस र एकीकृत समाजवादीका नेताहरूले अन्य प्रदेशमा १० दलीय गठबन्धनअनुसार चल्ने तर कोसीमा नचले ठीक नहुने भन्दै चेतावनी दिइसकेका छन् । कोसीकै कारण केन्द्रमा पनि नेताहरूबीच सम्बन्ध बिग्रिने सम्भावना छ । कांग्रेसले माओवादीको डबल स्ट्यान्डर्ड भूमिका भाे भन्दै आपत्ति जनाएइरहेको छ ।