इम्बोस्ड प्लेट नेपालीमा राख्ने कार्ययोजना अघि बढिसक्यो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको बतााएका छन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्न सम्बन्धित एजेन्सी (ठेकेदार)सँग छलफलमा रहेको बताए ।
उनले भने, ‘सवारी साधनहरुमा राखिने इम्बोष्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो । अहिले अंग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोष्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ । त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौं । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गईरहेका छौं ।’
प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको उनले बताए । सो कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अव सरकारले यो कामलाई तीव्रता दिने पनि उनले जानकारी दिए ।