दुजाङ शेर्पाको बर्खास्ती र महाधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा रिले अनसन


काठमाडौँ – अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् ।
म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत् सङ्घर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेका हुन् । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभाबी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।
उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ औँ महाधिवेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले सङ्गठन विरोधी काम गरेको र पार्टी दिएको म्यान्डेट अनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए । उनले विधि विधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताए ।
यसअघि काँग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्ष अघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गर्नुभएको थियो भने स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समय अवधि भित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।