प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको हत्या भएको खुलासा


बागलुङ / इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार श्रावण ८ गते साँझ ८ बजे बडिगाड गाउँपालिका वडा नं- ६ स्थित आशा होटल एण्ड खाजा घरमा वरिष्ठ सई पौडेल गएको र सोही होटल सञ्चालिका आशा कुँवर र निजको छोरा विनोद कुँवरसँग विवाद हुँदा विनोदको मुक्का र लात्ति प्रहारबाट बेहोस भएका पौडेलका पर्दाको कपडाले घाँटी कसी हत्या गरेको खुलेको छ । मृतकले घाँटीमा लगाएको सुनको सिक्रि निकाली किचन र्याकमा लुकाई राखेको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
रातको साढे एघार बजे सो घटना भएको र घटनामा संलग्न दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र निजका छोरा २० वर्षीय विनोद कुँवरलाई ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय भिमगिठे देखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ।
