‘सडक सुरक्षा सुनिश्चित गर्न सरोकार राख्ने निकायबीच बलियो साझेदारी आवश्यक’

प्रशासन

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सरोकार राख्ने निकायबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित ट्राफिक सचेतनासम्बन्धी कार्यक्रममा उहाँले प्रत्येक नागरिकले सुरक्षितरूपमा यात्रा गर्न सक्ने गरी सबै सरोकारवाला निकायको प्रयासको खाँचो रहेको बताउनुभयो ।
सडक सुरक्षा सुनिश्चित गर्न धेरै चुनौती रहेको उल्लेख गर्दै उहाँले ट्राफिक सचेतना र सडक सुरक्षासँग सम्बन्धित भिडियोमार्फत नागरिकलाई सडक सुरक्षाका विभिन्न पक्षहरूबारे शिक्षा दिन जरुरी रहेको औँल्याउनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रघुराम विष्टले सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटनाबाट हुने क्षतिमा कमी आउने बताउनुभयो । उहाँले सडक सुरक्षासँग सम्बन्धित विषयहरूमा मन्त्रालयबाट आवश्यक साथ, सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा गोम्पे दोर्जेले सडक सुरक्षाका लागि नेपाल प्रहरीलगायत सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट