९ करोड जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा ९ करोड जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले काभ्रे पनौती नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ जरिवाना पाएका थापालाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर ऋण लिएको प्रहरीले जनाएको छ । उनले काभ्रे बोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू बनाएर आठ करोड ५० लाख रुपैयाँ कर्जा लिएको खुलेको छ ।

उक्त मुद्दामा २०७१ वैशाख २९ गते उच्च अदालत पाटनले उनलाई तीन वर्ष कैद र बिगो बमोजिम जरिवाना सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई सीआइबीले पक्राउ गरी आइतबर जिल्ला अदालत काठमाडौंमा पेश गरेको जनाएको छ ।

सम्बन्धित समाचार

सबै