४० लाख ठगेर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका र क्यानडा जाने व्यक्तिका लागि बैंक खातामा रकम देखाइदिएबापत आकषर्क ब्याज दिने भन्दै विभिन्न व्यक्तिसँग रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नरबहादुर दाहाललाई पक्राउ गरेको हो । उनले गत पुस ४ गते सुरज कुमार लुङगेली मगर समेतको खातामा ४० लाख रुपैयाँ जम्मा गर्न लगाई सो रकम बिभिन्न बैंक खाताहरुमा ट्रान्सफर गरी लिएर फरार भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

उनलाई माघ २६ गते प्रहरीले पक्राउ गरेको जनाएको छ । दाहालले आफूलाई विभिन्न छदम्भेषी नामबाट परिचित गराउने गरेको पाइएको छ ।

प्रहरीका अनुसार ठगीमा विभिन्न ५ जनाको संलग्नता भएको खुल्न आएको छ । उनीहरुले अष्ट्रेलिया तथा क्यानडा जस्ता देशमा जानको लागि बैंक ब्यालेन्स देखाउने प्रयोजनार्थ एक दिनको लागि खातामा पैसा जम्मा गरिदिए वापत आकर्षक ब्याज दिने भनि प्रलोभनमा पार्ने गरेका थिए ।

दाहालसहित ५ जना सोही प्रकृतिको कसुर (४० लाख ठगी) गरेकोमा कात्तिक ३ गते मुद्दा चलेरसमेत छुटेका व्यक्ति हुन् । छुटेर गए पश्चात पुनः पुस ४ गते दोस्रो व्यक्तिबाट ४० लाख ठगी गर्न सफल भएको प्रहरीले जनाएको छ ।

नरबहादुरले अर्को एक जना व्यक्तिसँग ६० लाख ठग्ने योजना बनि पैसा खातामा जम्मा गर्न लागेको अवस्थामा पक्राउ परेका थिए । उनीविरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भइ काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

सम्बन्धित समाचार

सबै