अब कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छः शेखर कोइराला

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् ।

शनिबार बाँकेको कोहलपुरमा पार्टीको बाँके क्षेत्र नम्बर १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील हुनुपर्ने बताएका हुन् ।

निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको भन्दै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे ।

२०६४ को संविधानसभा पछि लगातार चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने,‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए ।
कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए ।

उनले भने, ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन बनाऔं सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?’

सम्बन्धित समाचार

सबै