गण्डकीमा मुख्यमन्त्रीको विश्वासको मत विवादमा, कांग्रेसले कानुनी उपचार खोज्ने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस अदालत जाने भएको छ ।

यसअघि मुख्यमन्त्रीको नियुक्तिमा समेत प्रश्न उठाउँदै कांग्रेसले दायर गरेको रिट सर्वाेच्चले खारेज गरेको थियो । आइतबार सभामुख कृष्णप्रसाद धितालले ३० मत पाएका अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । तर, गण्डकीमा विश्वासको मत जित्न ३१ मत चाहिने कांग्रेसको भनाइ छ ।

सभामुख धितालले असंवैधानिक काम गरेको भन्दै कांग्रेसले फेरि अदालत जाने घोषणा गरेको हो । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकोमा उनको पक्षमा एमाले र माओवादी केन्द्रका ३० सांसदले मत दिए । बैठकमा उपस्थित ५९ सांसदमध्ये कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने ३ जना तटस्थ रहेका थिए ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीलाई बहुमतका लागि ३१ सांसदको मत आवश्यक थियो । तर प्रदेशसभाका सभामुख धितालले कांग्रेसको अवरोधका बीच सर्वोच्च अदालतको फैसला बमोजिम मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सभामुखले गरेको घोषणा पूर्ण रुपमा असंवैधानिक, संसदीय अभ्यास र परम्परा विरुद्ध रहेको बताए । उनले यसका लागि कानुनी उपचार खोज्ने बताए ।

सम्बन्धित समाचार

सबै