क्रिकेटर आदिल अन्सारीमाथिको निलम्बन फुकुवा


काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले स्पट फिक्सिङ प्रकरणमा मुछिएका नेपाली क्रिकेटर आदिल अन्सारीमाथिको निलम्बन फुकुवा गरेको छ ।
दुई वर्षअघि आयोजित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० का दौरान उनी स्पट फिक्सिङमा मुछिएका थिए ।
यसअघि क्यानले २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म आयोजना भएको नेपाल टी–२० का दौरान स्पट फिक्सिङमा मुछिएपछि तत्कालीन राष्ट्रिय टिमका सदस्यसमेत रहेका अन्सारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘क्यान इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसहितको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने गरी २१ गतेदेखि मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
स्पट फिक्सिङ प्रकरणमा आदिलसँगै नेपाली टिमकै पूर्वसदस्य महबुब आलम, नितेश गुप्ता, नविन कँडेल र रवि माझीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । तर पाँचैजनालाई जिल्ला अदालत काठमाडौंले दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो ।
