समाचार

वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको प्रचण्डको आरोप

NepalOne
२ जेठ २०८२ १२:२५

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको जिकिर गरे ।

उनले भने, ‘सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ । सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन ।’

अध्यक्ष दाहालले कांग्रेस—माओवादीबीचको सत्ता समीकरण हल्ला मात्रै भएको स्पष्ट गर्दै वामपन्थी गठबन्धन पनि ८४ सम्म नहुने जिकिर गरे ।

उनले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको बताए । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले भने सुदूरपश्चिम क्षेत्रलाई सधैंँ प्राथमिकतामा राखेको दाबी गरे । आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको अध्यक्ष दाहालको भनाइ थियो ।

उनले भने, ‘विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ । हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ । डडेल्धुरा र यहाँका पहाडी जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक छ । यसका लागि पहल गर्छौं ।’

उनले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरी पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिएको उनले जानकारी दिए ।

अध्यक्ष दाहालले पहिलो चरणको जागरण अभियान झापाको कचनकवलबाट सुरु गरी महाकालीमा सम्पन्न भएको र दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने जानकारी दिए ।


प्रतिक्रिया