समाचार

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

NepalOne
२ जेठ २०८२ २०:०४

काठमाडौँ, २ जेठ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जीले भेटवार्ता गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका उपाध्यक्ष जीले आज सङ्घीय संसद् भवन बानेश्वरमा भेटवार्ता गर्नुभएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्ध मानव सभ्यताको विकाससँगै सुरू भएको चर्चा गर्दै पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध झन निकट र प्रगाढ रहेको बताउनुभयो । “दुई देशबीचको पुरानो सम्बन्ध र सभ्यतासँगै विकसित हुँदै आएको छ । भृकुटी र अरनिको जस्ता ऐतिहासिक व्यक्तित्वले निर्माण गरेको हाम्रो सम्बन्ध निरन्तर विकास र सुदृढ हुँदै गएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “भविष्यमा हाम्रो मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने कुरामा म विश्वस्त छु ।”

राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक एवम् संसदीय भ्रमणहरूले दुई देशको सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष दाहालले बताउनुभयो ।

नेपालले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन आएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले सगरमाथा संवादले सरोकारवाला सबैलाई एकै ठाउँमा ल्याएर अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय मुद्दा एवम् चुनौतीहरू सम्बोधन गर्नका लागि सहमति र सहकार्य अघि बढाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

सो अवसरमा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीले नेपाल चीनको असल छिमेकी देश भएको बताउनुभयो । उहाँले नेपाल रणनीतिक, सांस्कृतिक तथा सामाजिक हिसाबले निकै महत्त्वपूर्ण छिमेकी भएको भन्दै दुई देशले क्षेत्रीय तथा पारस्पारिक विकासमा सहयोगमा गरिरहेको बताउनुभयो ।

नेपाल विगतदेखि नै एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै उहाँले चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने नीतिको प्रशंसा गर्नुभयो । जलवायु परिवर्तनको अवसर न्यूनीकरणका लागि नेपालले गरेको प्रयास निकै सह्रानीय रहेको भन्दै उपाध्यक्ष जीले नेपाल र चीन दुवै देश ट्रान्स हिमालयन राष्ट्र भएकाले यसका चुनौती र अवसर पनि साझा भएको बताउनुभयो ।

भेटमा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्याल, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी हुनुहुन्थ्यो । चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूत छेन् सोङसहित उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया