समाचार

रिहा भए रविन्द्र, राज्यले प्रतिशोध साँधेको प्रतिक्रिया

NepalOne
२ जेठ २०८२ १९:३४

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र रिहा भएका छन् । सर्वोच्चको आदेशपछि शुक्रबार साँझ रिहा भएका हुन् ।

रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै मिश्रले राज्य विरुद्धको कसुर, संगठित अपराध र अपराधिक उपद्रव आफूबाट नभएको बताए ।

उनले आफूले कुनै पनि अपराध नगरे पनि राज्य आफू विरुद्ध लागेको बताए । उनले भने, ‘म हाजिरी जमानीमा छुटेको हुँ । त्यसमा म धेरै खुसी हुने पक्षमा छैन । किनभने राज्य मविरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरुले पनि भनिसक्नु भएको छ ।’

उनले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जनधनको क्षति भएकोप्रति भने दुःख व्यक्त गरेका छन् ।

गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका उनलाई पक्राउ गरेको थियो ।

राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो । बन्दीप्रत्यक्षीकरणको रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई रिहा गर्न आदेश दिएको थियो ।


प्रतिक्रिया