समाचार

सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ

NepalOne
४ जेठ २०८२ १८:३५

सिरहा । सिरहामा लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।प्रहरीले गोप्य सूचनाको आधारमा विशेष अपरेशन संचालन गर्दै ठूलो मात्रामा खैरो हिरोइन, अवैध नगद तथा मोबाइल बरामद गरेको हो ।

लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट जेठ २ गते साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव (३२) र उनकी बहिनी किरण कुमारी यादव (२६) लाई नियन्त्रणमा लिएको हो ।चेकजाँचका क्रममा दिनेशको साथबाट २२.९० ग्राम खैरो हिरोइन, रु ५१,४५० नगद, र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।त्यसपछि दिनेशको लहान–२२ स्थित घरमा गरिएको खानतलासीमा थप १८६ ग्राम खैरो हिरोइन, रु ५४,१४,२८५ नेपाली रुपैयाँ, रु ३५,७८० भारतीय रुपैयाँ, चार थान मोबाइल र एक थान डिजिटल तराजु फेला परेको थियो ।

त्यसैगरी जेठ ३ गते दिउँसो १ः३० बजे बरियारपट्टी गाउँपालिका–३ चमार टोलबाट चेकिङ्गका क्रममा प्रहरीले भारतको लदनियाबाट आएका दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । कृष्ण कुमार यादव (२०) र निरज राय (१९) को साथबाट ७१० मिलिग्राम खैरो हिरोइन फेला परेको हो ।
उक्त दिन साँझ ३ बजे सिरहा नगरपालिका–२ स्थित महाबिर चोक नजिक भारतको जयनगरबाट आएका सञ्जय कारक (४५) लाई समेत प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको कम्मर र घुँडामा लुकाइ ल्याइएको रु १६,३८,००० नेपाली रुपैयाँ र रु २३० भारतीय रुपैयाँ (ने.रु.३७० बराबर) सहित एक थान मोबाइल फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ती सबै व्यक्तिहरूमाथि लागुऔषध कारोबार र अवैध सम्पत्तिसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले लागुऔषध कारोबारविरुद्ध निगरानी र निगरानी कडा पारिएको जनाएको छ ।


प्रतिक्रिया