कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ ।कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो ।
कोटिहोममा आजदेखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन गर्न चाहेमा आयोजकलाई सम्पर्क गर्न सक्नेछन् ।
कोटिहोममा आइतबार नवलपुरबाट मध्य विन्दु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मान बहादुर महतो, जिल्ला समन्वय समिति नवलपुरका सदस्य लोक नाथ अर्याल, थारु संस्कृतिका अनुसन्धानकर्ता हरिमाया चौधरी सहितको १ सय जनाको समूह कोटीहोम दर्शन र थारु संस्कृतिको प्रदर्शनका गरेका थिए । उनीहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गरेका थिए ।
त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।
कोटिहोममा प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुति दिनहुँ रहेको छ । कार्यक्रममा अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजलाई कोटिहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले स–सम्मानका साथ विदाइ गरेका छन् ।
बौद्धिक धर्म परिषद्का मठाधिश स्वामी जगन्नाथ आचार्यले मानव सेवा फाउन्डेसनले सेवा सँगै सनातन धर्मको जगेर्ना गर्ने काम गरेको बताउँदै महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको यो सतत कार्यमा सबै जुट्नु पर्ने उल्लेख गरे ।
महन्त आदियोगि गौतम स्वामीले कोटिहोममा कथा प्रवचन तथा सन्देश दिएका थिए । कोटिहोममा आज भजन गायक रेसम सापकोटा, लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए ।
कोटिहोममा भोलि सोमवार वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा आइतबार पोखरा–१७ बिरौटा सृजनशील आमा समूहबाट ४३ हजार ५५, अर्जुन चौपारी गाउँ पालिका वडा नं ५ स्याङ्जाका नरेश्वर सापकोटाले ३५ हजार ५ सय २५, वासगढि नगरपालिका वडा नं. ३ बर्दियाका नारायण प्रसाद पहाडीले २५ हजार ५ सय २५, पूर्व कर्मचारी सेवा परिषद् गण्डकी प्रदेशबाट २५ हजार ५ सय ५५, नारायण फर्निचर उद्योगका विश्वेश्वर प्रसाद अर्याल र अणकुमारी अर्याल ले २५ हजार ५ सय ५५, सिद्धगंगा नगरपालिका अर्घाखाँची मोदिखोला जलविद्युत् आयोजनबाट ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
कार्यक्रममा रास्वपा कास्कीका सहसचिव टेकराज सापकोटा र मानव सेवा फाउन्डेसनका आजीवन सदस्य वनेका दिनेश आचार्यले कोटिहोममा आएर केही न केही सहयोग गर्न आग्रह गरे। कोटिहोममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।