समाचार

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा अनियमितताः सुनील पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

NepalOne
५ जेठ २०८२ १४:३३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै पौडेलविरुद्ध सोमबार विशेष अदालतमा अर्को मुद्दा दायर गरेको हो ।

आयोगले पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरुसहित खरिदमा संलग्न कम्पनीले गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

केन्द्रको एनआईटीसी/जीएनसीबी–६–०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र तीन वर्सेको वारेन्टीसहित अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको अख्तियारको दाबी छ ।

यो कार्यबाट राज्यलाई ५ करोड ७९ लाख रुपैयाँ बढी भुक्तानी लिई हानी पुर्याएको अख्तियारको दाबी छ । उनीविरुद्ध यसअघि एउटा ठेक्कामा ४ लाख डलरबाट घुसको बार्गेनिङ सुरु गरी २ लाख ८० हजारमा पक्का गरेको पाइएको भन्दै मुद्दा दायर भइसकेको छ ।


प्रतिक्रिया