चलचित्र ‘ऊनको स्वीटर’ को विशेष शो सम्पन्न, सेलिब्रेटीहरूको उपस्थिति र प्रशंसा


काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री मनिषा कोइरालालगायतका चर्चित कलाकारहरूको उपस्थितिमा चलचित्र ‘ऊनको स्वीटर’ को विशेष प्रदर्शन शो बुधबार वन सिनेमा, आइप्लेक्स मलमा सम्पन्न भएको छ । शोमा नेपाली चलचित्र क्षेत्रका विभिन्न चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
गायक राजेश पायल राईको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी सेलिब्रेटीहरूले चलचित्रको विषयवस्तु, अभिनय र प्रस्तुतिलाई अत्यन्तै सराहना गरेका छन् । उनले यो वर्षको र नेपाली चलचित्र उद्योगले मिठो चलचित्र पाएको बताए ।
उनले भने, ‘ चलचित्र ‘ऊनको स्वीटर’ अत्यन्तै उत्कृष्ट चलचित्र बनेको छ । एउटा सामाजिक परिवेश भित्रको माया प्रेम, हरेक चिजहरु यसको छायाँकन, कथा बुन्दै यसरी लगेको छ की नेपाली चलचित्र उद्योगले धेरै राम्रो चलचित्र पाएको छ । चलचित्र उत्कृष्ट बनेको छ । मलाई लाग्छ यो वर्षको र नेपाली चलचित्र उद्योगले मिठो चलचित्र पाएको छ ‘ऊनको स्वीटर’।
क्याप्टेन विजय लामाले फिल्मले आफूलाई आँखा रसाउने बनाएको भन्दै भावुक प्रतिक्रिया दिए । उनले भने, ‘गाउँघरको परिवेश, नेपालको संस्कृति सबै सिक्न सकिने चलचित्र बनेको छ । दर्शकहरूले यो चलचित्र अनुभव गर्नैपर्ने छ ।’
अभिनेता नाजिर हुसेनले निर्देशकद्वारा सिर्जना गरिएको संसार र त्यसमा बसोबास गर्ने पात्रहरूको यथार्थपरक चित्रणलाई उच्च मूल्याङ्कन गरे । उनले भने, ‘यो चलचित्र सबै परिवार बसेर हेर्न सकिने सुन्दर चलचित्र बनेको छ ।’
चलचित्रका प्रमुख कलाकार विपिन कार्कीले ‘ऊनको स्वीटर’ मा आफूले निभाएको भूमिका वास्तविक जीवनसँग निकै मिल्दोजुल्दो रहेको बताए । उनले भने, ‘पूर्वमा छायांकन गरिएको यस चलचित्रमा काम गर्दा एकदमै रमाइलो अनुभव भयो । पूर्वकै मान्छे भएकाले भावनात्मक रुपमा पनि जोडिएको महसुस भयो ।’
चलचित्रको कथा सामाजिक परिवेशभित्रको माया, प्रेम र संस्कृतिलाई केन्द्रमा राखेर बुनेको छ । उपस्थित कलाकार तथा दर्शकहरूले यो वर्षको उत्कृष्ट नेपाली चलचित्रको रूपमा ‘ऊनको स्वीटर’ लाई उल्लेख गरेका छन् ।
चलचित्रको निर्देशन तथा प्रस्तुतिका पक्षमा गरिएको प्रशंसाले यो फिल्म नेपाली सिनेमाको गुणस्तर उकास्ने दिशामा महत्वपूर्ण कदम बन्ने आशा गरिएको छ ।