वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार सकारात्मक छ : मुख्यमन्त्री आचार्य


देउखुरी (दाङ), ९ जेठ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशको पहिलो परिषद् भेला उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासङ्घमा आबद्ध सदस्यहरू आन्दोलनका नाममा भावनामा बग्न जरूरी नरहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “भावनामा बग्न जरूरी छैन । वार्ताबाट समाधान निस्कन्छ । समस्याको समाधान निकाल्ने प्रयास भइरहेको छ । समस्या तपाईं हामी मिलेर छलफल गरेर समाधान गर्ने हो । सरकार सामुदायिक वन उपभोक्ताहरूको मागका बारेमा गम्भीर छ ।”
व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासङ्घको बीचमा दूरी बढाउने काम गरेको उल्लेख गर्दै उहाँले यस्ता प्रवृत्तिबाट सचेत रहनुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनीका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, मन्त्रालयका प्रतिनिधि तथा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।