ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही हुन्छ : ऊर्जामन्त्री खड्का

NepalOne
९ जेठ २०८२ २१:५९
प्रमुख खबर

काठमाडौँ, ९ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने बताउनुभएको छ । ताप्लेजुङको पाथिभरा जाने क्रममा गत वैशाख ८ गते विद्युत्को तारमा अल्झिएर बोलेरो दुर्घटना भएपछि मन्त्री खड्काद्धारा बनाएको दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन आज बुझ्दै उहाँले विद्युत् सेवा वितरणमा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने बताउनुभएको हो ।

उहाँले विद्युत् सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । उक्त दुर्घटनामा परेर चार जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका थिए ।

ऊर्जामन्त्री खड्काले उक्त घटना राज्यका लागि गम्भीर चुनौतीका रूपमा देखिएको बताउनुभयो । मन्त्री खड्काले उक्त घटनाको अध्ययन गर्न विद्युत् विकास विभागका सुपरिडेन्टेन्ट इन्जिनीयर नुतप्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गर्नुभएको थियो ।

प्रतिवेद बुझ्दै मन्त्री खड्काले घटनाबाट गम्भीर शिक्षा लिँदै आगामी दिनमा नीति र व्यवहार दुवैमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले दुर्घटनामा ज्यान गुमाउने परिवारका साथै घाइतेलाई स्वास्थ्य उपचार र उचित क्षतिपूर्तिका लागि पहल गर्नसमेत विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।


प्रतिक्रिया