एआईको सदुपयोग गरी सकारात्मक उपलब्धिका लागि प्रयोग गर्नुपर्नेमा शिक्षामन्त्री पन्तको जोड

NepalOne
९ जेठ २०८२ १८:२८
राजनीति

ललितपुर, ९ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुनाथ पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम बौद्धिकता (एआई)को सदुपयोग गरी सकारात्मक उपलब्धि हासिल गर्न प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’को २९औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पन्तले एआईलाई आधारभूत मूल्य, मान्यतासहित सदुपयोग गर्दै सकारात्मक नतिजा आउने गरी प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “कृत्रिम बौद्धिकताको सदुपयोग गर्न सकेमा यो सहयोगी बन्न सक्छ । गलत तरिकाले प्रयोग गरिएमा यसले असहज स्थिति निम्त्याउन सक्छ, तसर्थ हामी सहज हुँदै यसको प्रयोग गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

डिजिटल सञ्चारमाध्यमको विकास र प्रसारसँगै पत्रकारले सम्पादकको अनुमतिका लागि कसैको आदेश पर्खिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आजका सञ्चारमाध्यमले प्रतिभावान् र क्षमतावान् व्यक्तिका लागि नयाँ अवसरहरू सिर्जना गरेकाले कसले आफ्नो क्षमता कति विकास गर्छ भन्ने विषय मेहनत र सक्रियताले निर्धारण गर्दछ ।”

मन्त्री पन्तले डिजिटल प्रविधिका कारण मोबाइल र अनलाइनमार्फत रेडियो सुन्न सकिने भएकाले सामुदायिक रेडियोलाई प्रविधिसँग जोडेर अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामुदायिक रेडियोहरूले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका बताउँदै भन्नुभयो, “सामुदायिक रेडियो सञ्चालनमा केही जटिलता छन्, ती समस्याको समाधानका लागि मन्त्रालयबाट आवश्यक समन्वय र सहयोग गरिनेछ ।”

कार्यक्रमको प्रमुख विषयवस्तु ‘डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताले ल्याएको चुनौती र अवसर’ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले एआईलाई चुनौती होइन, अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कृत्रिम बौद्धिकतालाई स्वयं प्रयोग गरेर तथ्यहीन सामग्रीको सत्यता पत्ता लगाउन सकिन्छ, यसमा आफू सचेत हुनु जरुरी छ । प्रविधिको विकाससँगै हामीले पनि आफ्नो क्षमताको पनि विकास गर्दै जानुपर्छ ।”


प्रतिक्रिया