बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविले १० वर्षको अवधिमा मारेको फड्को

NepalOne
१० जेठ २०८२ ११:००
प्रमुख खबर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन् ।

अङ्ग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझावअनुसार तयार पारेको कार्ययोजना कार्यान्वयन, विद्यार्थीमैत्री शिक्षण विधिको प्रयोग, तह वृद्धि, विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग, व्यवस्थित पूर्वाधार र स्रोत साधनको उच्चतम परिचालन गरेपछि विद्यार्थीको आकर्षण बढेको प्रअ सुरेन्द्रप्रसाद केसीले बताए ।

“विसं २०७१ मा कक्षा पाँच उत्तीर्ण भएका १२ जना विद्यार्थी बाहिरिने र नयाँ नथपिने भएपछि विद्यालय बन्द गर्ने बहस चलेको थियो”, उनले भने, “शैक्षिक, भौतिक र आर्थिक कार्ययोजना बनाएर कार्यान्वयन गरेपछि त्यसयताका वर्ष विद्यार्थी सङ्ख्या निरन्तर बढेको छ ।”

विसं २०७२ को शैक्षिक सत्रमा सेवा क्षेत्रमा बस्तीमा व्यवस्थापन समिति र शिक्षकहरूले घरदैलो गरेर ९३ जना विद्यालय भर्ना गराए । विसं २०७३ मा विद्यार्थी सङ्ख्या १३२ पुग्यो । विसं २०७५ मा कक्षा ६, २०७८ मा कक्षा ८ र २०८० मा कक्षा ९ को पठनपाठन सुरु गरेको यस विद्यालयका १० जना विद्यार्थीले २०८१ मा पहिलोपटक माध्यमिक शिक्षा परिक्षा (एसइई)मा सहभागिता जनाएका छन् ।

विसं २०२८ मा हाल म्याग्दी बालगृह रहेको ठाउँमा स्थापना भएको विद्यालय विसं २०५८ मा कालीपुलमा स्थानान्तरण गरिएको थियो । नेपाल बाल सङ्गठनले सञ्चालन गरेको बालगृहमा रहेका अनाथ बालबालिकालाई पठनपाठनको ब्यवस्था मिलाउन त्यसबेला यो विद्यालय स्थापना भएको थियो ।

हाल कक्षा १० मा २२ जनासहित २७२ जना विद्यार्थी रहेको यस विद्यालयमा भर्ना अभियान सकिँदासम्म विद्यार्थी सङ्ख्या करिब ३५० जना पुग्ने प्रअ खत्रीको अनुमान छ । औसत सिकाइ उपलब्धि तीन दशमलव नौ जिपिए छ । यसपाली बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका एक, पोखराको विन्दबासिनी माविबाट दुई जनासहित छ जना अन्य विद्यालयका विद्यार्थी बालमन्दिरमा भर्ना हुन आएका छन् ।

बाल कक्षापछि एक वर्ष केजी (पूर्वप्राथमिक तह)मा पढाउने र कक्षा १ मा भर्ना गर्ने अभ्यास थालेको यस विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन, विभाग बनाएर शिक्षकहरूलाई जिम्मेवारी बाँडफाँट, अतिरिक्त क्रियाकलाप, खेलकुद गतिविधि सञ्चालन, कक्षाकोठाबाट बाहिर निस्किँदा आउटपासको व्यवस्था, कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरेको छ ।

कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र प्रयोग गरेर विद्यार्थीको सहभागितामा पठनपाठन गर्ने विधि अपनाएको छ । प्रार्थनाको समयमा विद्यार्थीले सामान्य ज्ञान, समाचार वाचन र कला प्रस्तुत गर्छन् । हरेक तीन/तीन महिनामा सामूहिक र व्यक्तिगतका साथै शिक्षकले अभिभावकलाई फोन गरेर विद्यार्थीको आनीबानीका बारेमा छलफल गर्छन् ।

विभिन्न सङ्घ संस्था र दातासँग समन्वय गरेर विपन्न विद्यार्थीलाई छात्रावृत्ति, पोसाक, शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको प्रअ खत्रीले बताए । विद्यालयबाट अतिरिक्त क्रियाकलापका प्रतियोगितामा सहभागी हुने विद्यार्थी र शिक्षकलाई हौसला प्रदान गर्न सम्मानका साथै विद्यार्थीको जन्मदिन मनाउने गरेको छ ।

विद्यालय परिसरको जग्गामा निर्माण भएको भवन तथा टहराबाट मासिक दुई लाख ३२ हजारका दरले हुने आम्दानीबाट निजी स्रोतका चार जना शिक्षक र एक जना सुरक्षा गार्डको तलब व्यवस्थापन गरेको विद्यालयले अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क लिने नगरेको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माले बताए ।

पछिल्लो दश वर्षमा दुई करोड ५० लाखभन्दा बढीको लागतमा चार वटा भवन, कम्प्युटर, विज्ञान प्रयोगशाला, शौचालय, सभाहल, सटरकोठा भवन, खानेपानी, भुइँमा पेभर ब्लक बिछ्याइएको छ ।
छात्रावासका लागि पाँच कोठे भवन निर्माणाधीन छ । यस वर्षदेखि विद्यालयमै खाजा पसल सञ्चालन भएको छ । विद्यालय परिसरको खाल्डो र खेलमैदानमा जमेको पानीमा ढुङ्गा राखेर कक्षाकोठामा छिर्नुपर्ने अवस्थाको विद्यालय अहिले पूर्वाधारका हिसाबले व्यवस्थित र सुविधासम्पन्न बनेको छ ।

नब्बे प्रतिशत विद्यार्थी दलित समुदायका रहेका सहायक प्रअ गीता सुवेदीले बताइन् । विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन पाँच लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरेको छ । पूर्वविद्यार्थी, दाता र सामाजिक सङ्घ संस्था खोजेर विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकको व्यवस्था मिलाइएको छ ।

खेलमैदानको अभाव र छात्रावास सञ्चालनका लागि पर्याप्त भवन नहुनु, शैक्षिक सत्रको अन्तिमसम्म पनि भर्ना हुन आउने र केही विद्यार्थीले बीचमा विद्यालय परिवर्तन गर्ने समस्या रहेको छ । रोजगारीको शिलशिलामा बेनीमा आएका अभिभावकहरू कामको खोजीमा अन्यत्र जाँदा बालबालिकाले शैक्षिक सत्रको बीचमा विद्यालय परिवर्तन गर्ने समस्या देखिएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बालमन्दिर माविमा तह थप गर्न विद्यार्थी सङ्ख्या कम भएका अन्य विद्यालयबाट आधारभूत तहको दरबन्दी भए पनि माध्यमिक तहसम्म पठनपाठन गर्नसक्ने विषयगत शिक्षकको व्यवस्था मिलाएको बताए ।

बेनीमा रहेको बेनी सामुदायिक र प्रकाश माविमा बढ्दो विद्यार्थीको चाप व्यवस्थापन गर्न बालमन्दिर माविलाई तहवृद्धि गरी शैक्षिक र भौतिक क्रियाकलापमा नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख केसीले बताए । सामुदायिक विद्यालयका लागि बालमन्दिर माविको सुधार र परिवर्तन उदाहरणीय बनेको उनको भनाइ छ ।


प्रतिक्रिया