कर्मचारीले गरेको गल्तीका आधार मन्त्रीले राजीनामा दिने होइनः सिटौला

NepalOne
११ जेठ २०८२ ११:३८
प्रमुख खबर

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एकजना कर्मचारीले गरेको गल्तीकै आधार मन्त्रीले राजीनामा गर्दै हिँड्न नहुने बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत भएको बताएका हुन् ।

उनले भने, ‘कुनै पनि अड्डा अदालतको वा कुनै कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जवाफदेही हुन्छ, ऊ जिम्मेवार हुन्छ, त्यो हो भने । तर कार्यालयको प्रमुखले राजीनामा दिनुपर्छ भन्यौं भने राज्य व्यवस्था चल्दैन ।’

सिटौलाले अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।

यसअघि शनिबार कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्रीले नैतिकतामा आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्न सुझाव दिएका थिए ।

सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक नभएको बताए ।


प्रतिक्रिया