महानगरका प्रवक्ता मानन्धरलाई माफी मागेर स्पष्टीकरण दिन बालेनको निर्देशन

NepalOne
११ जेठ २०८२ १४:०७
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरका प्रवक्ता नविन मानन्धरसँग स्पष्टीकरण सोधेका छन् ।

तीन दिनभित्र माफी माग्दै स्पष्टीकरण दिन मेयर साहले मानन्धरलाई निर्देशन दिएका हुन् । प्रवक्ता मानन्धरले सञ्चार माध्यममा बोलेको विषयले आफ्नो मानहानी भएको भन्दै मेयर साहले स्पष्टीकरण सोधेका हुन् ।

पछिल्लो समय प्रवक्ता मानन्धर मेयर साहप्रति आलोचनात्मक टिप्पणी गर्दै आएका छन् । मानन्धर वडा नम्बर १७ का वडा अध्यक्ष हुन् ।

एक टेलिभिजन अन्तरवार्तामा प्रवक्ता मानन्धरले मेयर साह र उनको सचिवालयको चर्को आलोचना गरेका थिए । उनले मेयर साह र उनको सचिवालयविरुद्ध अख्तियारमा उजुरी परेको कुरा पनि बताएका थिए ।

प्रवक्ता मानन्धरले साथीभाईसँग सल्लाह गरेर स्पष्टीकरणको जवाफ दिने बताए । यसअघि मयर साहले भ्रष्टाचार गरेको आरोप लगाउँदै कार्यालय प्रवेशमा रोक लगाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउँदा मानन्धरले समन्वयकारी भूमिका खेलेका थिए ।


प्रतिक्रिया