प्रधानमन्त्रीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह

NepalOne १२ जेठ २०८२ १६:०४
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह आग्रह गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरी आयोगले राजतन्त्रसमर्थक आन्दोलनलाई इङ्गित गर्दै प्रधानमन्त्री ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले भनेको छ, ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन । यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ । जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ ।’

आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न आग्रह गरको छ ।


प्रतिक्रिया