न्यायपालिकाले मलाई न्याय दिनेछः अध्यक्ष नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइएको बताएका छन् ।
शनिबार मधेस प्रदेश सम्पर्क कमिटिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएको बताएका हुन् ।
उनले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएर आफूमाथि खनिएको बताए । प्रधानमन्त्री केपी ओलीतर्फ संकेत गर्दै अध्यक्ष नेपालले बदलाको भावनाले उनीहरूलाई पोलिराखेको बताए ।
उनले भने, ‘हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन् । पूर्वाग्रह राखेर बसेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ । अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु ।’
अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताए । उनले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ । हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’