रुस–युक्रेन शान्ति प्रयासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न संयुक्त राष्ट्रसङ्घलाई ब्राजिलको आग्रह

NepalOne २४ जेठ २०८२ २१:०४
विश्व

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन द्वन्द्व समाधानका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घलाई आह्वान गर्नुभएको छ । उहाँले समस्याको समाधान खोज्न एक समूह गठन गर्न राष्ट्रसङ्घलाई सुझाब दिनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता द्वन्द्व समाधानका लागि ब्राजिलको ‘अत्यन्त महत्वपूर्ण भूमिका’ रहेको बताएपछि लुलाले फ्रान्स भ्रमणका क्रममा पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुभएको हो ।

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ताले तीन वर्षभन्दा बढी को लडाईंमा विराम लगाउन असफल भएपछि दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्ता यसै साता इस्तानबुलमा सुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई ‘असल मानिस’ को संज्ञा दिँदै लुलाले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घ फेरि यस मामिलामा नायक बन्न सक्छ ।”

राष्ट्रपति लुलाले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घका प्रमुखले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी नेता भ्लादिमिर पुटिन दुवैलाई ‘मित्रहरूको एउटा समूहको प्रस्ताव’ गर्नुपर्छ । त्यसपछि ‘उनीहरू आपसमा कुरा गर्नेछन्, आ–आफ्ना सत्य सुन्नेछन् र त्यसपछि विकल्प निर्माण गर्नेछन्।”

उहाँले भन्नुभयो, “म जेलेन्स्की र पुटिनसँग वार्ता गर्न युद्धमा संलग्न नभएका देशहरू सम्मिलित एक आयोग गठन गर्न प्रस्ताव गर्दछु।”

उहाँले थप्नुभयो, “कुनै पनि पक्षले आफूले चाहेको कुरा पाउने छैनन् तर जे सम्भव छ त्यो प्राप्त गर्न सक्नेछन् । न त जेलेन्स्कीको पक्षमा शत प्रतिशत अवस्था छ, न त पुटिनको पक्षमा वातावरण छ।”

अधिकांश युरोपेली देशहरूको विपरीत राष्ट्रपति लुलाले मस्कोसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुभएको छ र युक्रेन द्वन्द्वप्रति तटस्थ प्रस्तुत हुने प्रयास गरिरहनुभएको छ ।

जुलाईमा रियो दि जेनेरियोमा ब्रिक्स समूहको अर्को शिखर सम्मेलन आयोजना गर्न लागेका राष्ट्रपति लुलाले युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा रुसमा निर्वासित गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको पक्राउ पुर्जीका बावजुद पुटिनलाई बैठकमा आमन्त्रण गरिएको बताउनुभयो ।

रुसले शनिबार युक्रेनमाथि कब्जामा लिएका सैनिकको ठूलो परिमाणमा आदानप्रदान स्थगित गरेको आरोप लगाएको थियो ।


प्रतिक्रिया