नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र आपसी विश्वासमा आधारितः पूर्वराष्ट्रपति भण्डारी


बेइजिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा भइरहेको तीव्र परिवर्तन र जटिलताका बीच साझा भविष्य निर्माणका लागि राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताएकी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा बेइजिङमा आयोजित ‘छिमेकी देशहरूसँग साझा भविष्य निर्माण– राजनीतिक दलहरूको भूमिका’ विषयक संवाद सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।
उनले नेपालको वर्तमान यात्रा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्तिपूर्ण सामाजिक रूपान्तरण र आर्थिक समृद्धिमा केन्द्रित रहेको उल्लेख गरिन् । पूर्वराष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, र आपसी विश्वासमा आधारित रहेको बताइन् ।
उनले यस सम्बन्धलाई ‘राजनीतिक, आर्थिक र कूटनीतिक आयाममा मात्र सीमित नभई भावनात्मक निकटता र आपसी सहयोगको गहिरो परम्पराले जोडिएको उल्लेख गरिन् । आर्थिक सहकार्य र साझा समृद्धिको आधारमा दुई देशबीचको मित्रता थप बलियो र विश्वसनीय बन्दै गएको उनको भनाइ थियो ।
नेकपा एमालेले आफ्नै विशिष्ट परिस्थितिमा सामाजिक आर्थिक रूपान्तरणको मार्ग अवलम्बन गर्दै आएको उनले बताइन् । उनले छिमेकी देशहरूबारे शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण घर निर्माण गर्ने साझा दृष्टिकोण प्रस्तुत गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिइन् ।
उनले राष्ट्रपति सी चिनफिङले ‘जब एसिया हाम्रो हुन्छ, सम्पूर्ण विश्वलाई फाइदा हुन्छ’ भन्दै सधैँ जोड दिँदै आएको स्मरण गराइन् । यो अभिव्यक्तिले छिमेकी राष्ट्रहरूसँग साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारीले एसियाली मुलुकहरूबीचको सहकार्य एक राम्रो सुरुवात भएको र यसले एसियाको पुनर्जागरणलाई उजागर गरेको विश्वास व्यक्त गरिन् ।
उनले यस संवाद कार्यक्रमलाई केवल एक बैठक मात्र नभई भविष्य निर्माण प्रक्रियाको महत्त्वपूर्ण कडी भएको बताउँदै यस्ता संवाद विषयगत र नियमित बनुन् भन्ने चाहना व्यक्त गरिन् ।