पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला


सङ्गीता राई, धरान ।
सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ ।
दिनैमा भरि रमरसै गर्यों, छ महिनामा भेटौँ ।।
गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ ।
ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।।
साकेला थानमा परम्परागत किराती साकेला गीतहरु गुञ्जिरहेका छन्। किराती वेषभूषामा सजिएका युवायुवती गीत गाउँदै र तालमा ताल मिलाउँदै समूहमा नाचिरहेका दृश्यहरु भने लस्करै देखिन्छ।
‘साकेला मेरा लागि नाच मात्रै होइन, यो हाम्रो माटोसँग गहिरो संवाद जस्तै लाग्छ’, धरान उपमहानगरपालिका–१९ का पार्वती राई भन्छिन्, ‘जब यो साकेला नाँच नाच्न पाउँछु साह्रै खुसी महसुस हुन्छ, पहिला हामीले साकेलाबारे किताब र समाचारहरुमा मात्र पढेको थियौँ, तर अहिले प्रत्यक्ष सहभागी भएपछि बल्ल थाहा भयो साकेला केबल चाडमात्र नभएर यो हाम्रो पहिचान जोगाउने शक्ति हो।’
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमामा किरात राई समुदायले श्रद्धा, उल्लास र सांस्कृतिक गौरवका यो पर्व मनाउँछन्। अन्नबाली रोपाइँको सुरुआतअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी मेस्थानमा पूजा गर्ने परम्परा किरात राई समुदायमा रहिआएको छ। बुढापाकाहरूको भनाइमा, पर्वले पृथ्वी, प्रकृति र कृषि चक्रसँग मानव सम्बन्धको गहिरो सम्मान प्रकट गर्छ।
उधौली पर्व सामान्यतया एक दिनमै सीमित हुने भए पनि उभौली भने एक महिनासम्म मनाइन्छ । हरेक साकेला थानमा साकेला सिली नाच्नेहरूको लस्कर देखिन्छ। धरान आधुनिक सहरका रुपमा परिचित छ जहाँ हिपहप, पप, रकजस्ता पाश्चात्य सङ्गीतको उत्तिकै प्रभाव छ। तर यहाँका नयाँ पुस्ताका युवा उभौलीजस्ता मौलिक चाडपर्वमा उत्साहजनक सहभागिता जनाइरहेका छन्।
आधुनिकताको छायाँमा पनि परम्पराको उज्यालो मर्न नदिने र संस्कृतिलाई जोगाउँदै लैजाने प्रयासमा किरात राई समुदायको यो उत्सव एउटा सशक्त उदाहरण बन्दै गएको छ।
हरेक साकेला थानहरुमा हरेकको सिरमा टोपी र शिरबन्दीले ढाकिएको छ। दौरा सुरुवालमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, नौगेडी र सुन–चाँदीका गहनाले सिँगारिएकी युवतीहरु हातमा ढोल, झ्याम्टा समाउँदै गोलो घेरामा नाचिरहेका हुन्छन्। ढोलको तालमा प्रकृति र पुर्खाहरूको स्मरण गर्दै नाचिने यो दृश्य हो ,उभौली साकेलाको, जुन किरात राई समुदायको मौलिक सांस्कृतिक पर्वका रुपमा लिने गरिन्छ।
किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार, साकेला प्रकृति, संस्कृति र अस्तित्वसँग गाँसिएको चिनारी हो। उनी भन्छन्, ‘साकेला एउटा ढुङ्गा जस्तै अद्भूत शक्ति हो जुन कहिले ठूलो, कहिले सानो हुन्छ हामी प्राकृतिक पूजक भएकाले ढोल झ्याम्टा बजाउँदै प्रकृतिलाई पूजा गरेर नाच सुरु गर्छौं।’
राईका अनुसार, साकेला नृत्यको तीन वटा प्रमुखस्वरूप छन् जुन आराधनात्मक, अनुकरणात्मक र प्रतिक्रियात्मक सिली मानिन्छ। आराधनात्मक सिलीमा घाम, पानी, हावा, आकाश, जमिनलगायत प्रकृतिका तत्वको पूजा गरिने गरिन्छ। अनुकरणात्मक सिलीमा किराफट्याङ्ग्र्रा, चराचुरुङ्गी, झिँगादलगायतका जीवहरूको चालढालको अनुकरण गर्दै नाचिने गरिन्छ भने प्रतिक्रियात्मक सिली भने दैनिक जीवनका क्रियाकलाप जस्तै डोको बोक्ने, हलो जोत्ने वा नमस्कार गर्नेजस्ता हाउभाउलाई नृत्यमा उतार्ने शैली हो, यिनै तीन आधारभित्र हजारौँ सिलीहरू समेटिएको राईले बताउँछन्।
साकेला परम्परागत रूपमा विशेषगरी उधौली र उभौलीका अवसरमा नाचिने किरात समुदायको महत्वपूर्ण सांस्कृतिक नृत्य हो। यो नाच विवाह, व्रतबन्ध, जात्राजात्रा र विभिन्न सामाजिक तथा सांस्कृतिक समारोहमा पनि प्रस्तुत हुन थालेको छ ।साकेला ढोल, झ्याम्टा र मौलिक लोकधुनको तालमा गोलबद्ध भएर नाचिन्छ।
‘साकेला नाच्दा म प्रकृतिसँग संवाद गरिरहे जस्तै लाग्छ”, मोरङको कानेपोखरीका सन्तोष राई भन्छन्, ‘साकेलालाई आधुनिक जीवनशैलीबीच हराउँदै गएका प्राकृतिक सम्बन्धलाई पुनःजोड्ने अवसरका रूपमा लिएको छु । साकेला नाच्दा म जमिन, हावा र पुर्खासँग एकैचोटी संवाद गरिरहेको छु जस्तो लाग्छ।’
इटहरीका पवित्रा राई साकेला आफ्ना लागि पहिचानभन्दा पनि प्रतिबद्धता भएको बताउँछन्। ‘साकेला पर्व केबल पहिचान प्रकट गर्ने माध्यम होइन, आफ्नो समुदाय र प्रकृतिप्रति जिम्मेवारी जनाउने एउटा अवसर पनि हो। म साकेला नाच्न जाँदा पुर्खाहरूको बलिदान सम्झिन्छु। उहाँहरुले जङ्गल, जमिन र प्रकृतिलाई जसरी सम्मान गर्नुभयो त्यो सम्झनु र पछ्याउनु आजको पुस्ताको कर्तव्य हो’, उनले भन्छन्।
धरान–१५ का ८१ वर्षीय विष्णु राईका अनुसार पहिले उभौली आउँदा खेतबारी लगाउने समय हुन्थ्यो। ‘त्यसैले हामी साकेलाका माध्यमबाट धर्तीलाई सम्झिन्थ्यौँ, बर्खेबाली राम्ररी फलोस् भनेर प्रकृतिलाई नाचेर धन्यवाद दिने चलन थियो’, उनी भन्छन्।
राई पहिलेको साकेलाको तुलनामा अहिले फेरिएको बताउँछन्। ‘पहिलाको साकेलामा कडा नियम थियो सिनेसुरी हाँसो होइन, भावनासँगै नाच्नुपथ्र्यो। अहिलेको साकेला पनि राम्रो त लाग्छ, तर आधुनिकता र प्रदर्शनका कारण यसको गहिरो आध्यात्मिकता अलि ओझेलमा परेजस्तो लाग्ने गरेको’, उनी भन्छन्, ‘हामी सानो हुँदा गाउँका जेठाहरू पहाडको डिलमा माङ खड्काएर साकेला सुरु गरिदिनुहुन्थ्यो हामी नाङ्गो खुट्टा धानबारीबाट सिधै नाच्न आइपुग्थ्यौँ त्यो भावना अहिलेको साकेलामा खासै देखिँदैन।’
साकेलामा थुप्रै सिली हुन्छन्, तर सबैभन्दा महत्वपूर्ण सिली भनेको (हाक्पारे सिली)लाई लिने गरिन्छ यसमा पुर्खाको सम्मान, प्रकृतिप्रति कृतज्ञता र समुदायबीचको एकता समेटिएको उनले बताए। जहाँ यो सिलीले साकेलाको मूल भावना बोकेको हुन्छ।
बुढापाकाहरूको भनाइअनुसार, पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुअघि विशेष रूपमा पितृको पूजा गर्ने चलन छ। यो परम्परा पुराना धार्मिक विश्वास र सांस्कृतिक मान्यतासँग गहिरो रूपमा गाँसिएको छ। खासगरी किरात समुदायमा उभौली नाच सुरु गर्नु अगाडि पितृलाई सम्झेर पूजा गर्ने चलन छ, जसले गर्दा पितृहरू प्रसन्न भएर सन्तति र समुदायलाई आशीर्वाद दिने विश्वास गरिँदै आएको छ।
धरान बान्तावा सिली लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तमणि राईका अनुसार, पितृ पूजाको कार्य सम्पन्न नगरी कोसी नदी पार गरेर जानु उचित मानिँदैन भन्ने जनविश्वास अझै पनि रहेको बताउँछन्। उनी भन्छन, ‘पहिले पितृलाई सम्मानपूर्वक सम्झनु र तिनको आशीर्वाद प्राप्त गर्नु जरुरी हुन्छ, त्यसपछि मात्र अरू धार्मिक र सांस्कृतिक कार्यहरू अगाडि बढाउने चलन छ।’
पूर्वी नेपालका धरान, इटहरी, बेलबारी, विराटचोक, दमक, उर्लाबारी, पथरी, विर्तामोड, काँकडभिट्टाजस्ता क्षेत्रमा साकेलालाई उत्सवका रूपमा मनाउने चलन प्रत्येक वर्ष बढ्दै गएको छ। राई समुदायको बाक्लो उपस्थिति रहेका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामजस्ता पूर्वी पहाडी जिल्लामा पनि साकेला सिलीमा सहभागी हुनेको सङ्ख्या उल्लेख्य रहन्छ। राजधानी काठमाडौँमा पूर्वी पहाडबाट बसाइँ सरेका राई समुदायको बाक्लो बस्ती रहेका ठाउँमा साकेला उल्लासपूर्वक मनाइन्छ।
चार किरात (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा वैशाख शुक्ल पूर्णिमालाई बाली रोप्ने समय मानेर उभौली र मङ्सिर शुक्ल पूर्णिमालाई बाली भित्र्याउने समय मानेर उँधौली पर्व विशेष रूपमा मनाउने परम्परा छ।
लिम्बू, सुनुवार र याख्खा समुदायले उँधौलीलाई भव्य रूपमा मनाउने गरे पनि राई समुदाय भने उभौलीलाई विशेष महत्व दिन्छ। उनीहरूले वैशाख शुक्ल पूर्णिमादेखि करिब एक महिनासम्म विभिन्न टोलटोलमा झोल, झ्याम्टा बजाउँदै साकेला पर्व मनाउने चलन अहिले पनि बढ्दो छ। मङ्सिर पूर्णिमा अर्थात् उँधौलीका दिन भने राईहरूले साकेला थानमा सिली नाचेपछि पर्व समापन गर्ने चलन छ।
किराँत समुदायको विश्वासअनुसार वैशाख शुक्ल पूर्णिमापछि चराचुरुङ्गी तथा अन्य जङ्गली जनावर उँभो लाग्छन्। यसैगरी नदीका माछा पनि गर्मी छल्न तराईबाट पहाडतिर जान थाल्ने जनविश्वास छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन बाली भित्र्याइसकेपछि चिसो छल्न तराई झरेका मानिस पनि फेरि पहाडतिर फर्कन थाल्छन्। यस ‘उँभो लाग्ने’ कार्यलाई राम्रो बाली, समृद्धि र उन्नतिको प्रतीकका रूपमा लिने चलन रहिआएको छ।
किरात समुदायको सांस्कृतिक महत्वलाई मान्यता दिँदै सरकारले २०६४ सालमा उभौली (वैशाख शुक्ल पूर्णिमा) लाई र २०५८ सालमा उँधौली (मङ्सिर शुक्ल पूर्णिमालाई ‘किरात चाड’ घोषणा गरेको थियो। त्यसयता यी पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ। सरकारी मान्यतासँगै उभौली र उँधौली पर्वलाई झनै उत्साहपूर्वक र भव्य रूपमा मनाउने परम्परा बस्दै गएको छ।