सबै दलका शीर्ष नेताले राजनीतिबाट विश्राम लिन्छौँ भनेको दिन सबै आन्दोलन रोकिन्छन्ः महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए अहिले भइरहेका सबै आन्दोलन रोकिने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहँदा समाजलाई स्वीकार गर्न कठिन भएको बताए ।
उनले भने, ‘आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनको बेलुकाबाट यो आन्दोलन झर्छ। भोलिपल्टदेखि सबै घर फर्किन्छन्। केही पनि बाँकी रहँदैन ।’
उनले जनताले तेर्साएका प्रश्नहरूलाई नेतृत्व तहमा बसेकाहरूले गम्भीर रूपमा लिनुपर्ने बताए । राजनीतिक दलहरूले आफूलाई फरक ठान्न सकेमात्रै विकृत गठबन्धनको राजनीति संस्कारलाई बाहिर निकाल्ने उनले बताए । संवैधानिक राजसंस्था भनेर राप्रपाका नेताहरूले झुक्याउने काम गरेको उनले बताए ।
उनले भने, ‘राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो सट्टापट्टको बार्गेनिङको कुरा नगरौँ अब । सिधा मैदानमा आउनुपर्छ ।’