‘गण्डकी कोटिहोमभन्दा अझै ठूला यज्ञहरुको तयारीमा छौं, सबै प्रदेशमा पुग्छौं’

NepalOne १८ जेठ २०८२ १०:३२
अध्यात्म

पोखरा । नेपाल मानव सेवा फाउन्डेसनका संस्थापक तथा पशुपति र गण्डकी कोटिहोमका संकल्पकर्ता बाल योगेश्वर विजयकृष्ण मूर्ति महाराज(विजय भण्डारी)ले महायज्ञबाट संकलित रकमको उचित सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी दिनमा देशका अन्य प्रदेशमा पनि कोटिहोम गर्ने प्रतिवद्धता जनाउँदै कोटिहोमबाट उठेको रकम माग भएको खण्डमा सोही प्रदेशमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले सम्बन्धित प्रदेशमा विभिन्न आश्रम निर्माण गरेर मानव सेवामा समर्पित हुने पनि बताए ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले गण्डकीको रकमलाई सकेसम्म बाहिर जानेभन्दा गण्डकी प्रदेशभित्रकै कुनै ठाँउमा आश्रम स्थापना गरेर सेवा दिने लक्ष्य रहेको जानकारी दिए ।

उनले भने,‘पोखराका केही संस्थाहरुले बालबालिका पाल्ने, आमाबुबा राख्ने हो भने वा केही मानवीय सेवाका कामहरु गर्ने हो भने संकलित चन्दा हस्तान्तरण गर्न तयार छौं । कसैले गण्डकीकै कुनै भागमा जमिन दिन्छौ भनेर आउनुभयो भने संकलित रकम हस्तान्तरण गर्न तयार छौं । यहाँको रकमले अन्य ठाँउमा पनि धर्म जागरण गर्ने काम गर्ने छौ,’ उनले अगाडि भने,‘पशुपति कोटिहोम सफल भएकै कारण गण्डकीमा पनि सफल भएको हो । अब अन्य ठाँउ वा अन्य प्रदेशमा पनि यस्ता बृहत कार्यक्रमहरु आयोजना गर्दै जानेछौं ।’

त्यस्तै उनले गण्डकी कोटिहोम एकदमै व्यवस्थित तरिकाले अगाडि बढिरहेको भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीका लाखौं भक्तहरुले कोटिहोमबाट पुण्यलाभ लिइरहेको दाबी गरे ।

कोटिहोम ज्ञान महायज्ञको अवसरमा करिब ५० जिल्लाभन्दा बढि क्षेत्रबाट भक्तहरु आइरहेको छन् भने अन्तराष्ट्रिय जगतबाट पनि सादुसन्त, कथा व्यासहरु, प्रवक्ता, संगितकर्मी, कलाकार, साधक सबै यहाँ आइराखेको उनले जानकारी दिए ।
उनले बिहान उज्यालो भएदेखि रातीसम्मै भक्तहरुको भीडले गर्दा आफूहरुलाई एकदमै उत्साहित बनाएको पनि दाबी गरे ।

उनले भने,‘गण्डकी कोटिहोम ज्ञान महायज्ञको अवसरमा करिब ५० जिल्लाभन्दा बढि क्षेत्रबाट भक्तहरु आइरहनु भएको छ भने देश र विदेशबाट समेत भारतदेखि अन्य अन्तर्राष्ट्रिय जगतबाट पनि सादुसन्त, कथा व्यासहरु, प्रवक्ता, संगीतकर्मी, कलाकार, साधक सबै आइराख्नु भएको छ ।

एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ । साथै तन, मन, धन, वचन र कर्मले पूर्ण रुपमा सहयोग गर्नु भएको छ । बिहान उज्यालो भएदेखि रातीसम्मै भक्तहरुको भीड देख्न सकिन्छ । यसले हामीलाई उत्साहित बनाएको छ ।’
कोटिहोम विराट ज्ञान महायज्ञको आयोजनास्थललाई लिएर सुरुमा तीन महिनासम्म विवाद चलेको थियो । उक्त विवादपछि आयोजनास्थल सारिएका पनि त्यसको कुनै किसिमको प्रभाव नदेखिएको उनी बताउँछन् । जग्गा विवादको कुराले कोटिहोमलाई थप हौसाएको उनको भनाइ छ ।

उनले भने,‘जग्गा विवादको कुरालाई मैंले भगवानको इच्छाको रुपमा लिएको छु । राम्रो हुन कै लागि त्यो विवाद भएको जस्तो छ । त्यो विषय सबै शान्त भइसकेको छ । कुनै पनि विवाद, अवरोध, विरोध र नकारात्मक कुराहरु आएको पाएका छैनौ । योभन्दा अगाडि वडा नं. ६ मा लेकसाइडमा कार्यक्रम गर्ने भनिएको थियो तर विविध कारणबस त्यहाँ हुन सकेन । महानगर र यहाँका उच्चस्तरीय सरकारका कर्मचारीहरुको आग्रहमा स्थान परिवर्तन गरेका हौं । ठाउँ परिवर्तन हुँदा झनै राम्रो भएको छ । यज्ञ सफलताको उचाईमा पुग्न लागेको छ ।’

उनले गण्डही कोटिहोम पशुपति कोटिहोमभन्दा पनि फरक रुपमा सञ्चालन भइहरेको जानकारी गराए । उनका अनुसार पशुपतिमा १० कुण्डको कोटिहोम थियो भने पोखराको सय कुण्ड कोटिहोम हो । पशुपतिमा भगवान शिवलाई प्रसन्न पार्नको लागि आयोजित कोटिहोम थियो भने पोखरामा गायत्री माताको प्रसन्नताको लागि शास्त्रमा वर्णन भएको सय कुण्डिय कोटिहोमको परिकल्पना गरेर आयोजना गरिएको हो ।त्यस्तै उनले पोखरामा चार सय ब्राह्मणहरुद्वारा एक महिनाभन्दा बढि समयदेखि हवन गरिरहेको पनि बताए ।

‘पहिलो कोटिहोम सकिएपछि सातै प्रदेशमा भगवानलाई करोड पटक हवन गरेर, सन्तुष्टि गराउने भनेर गण्डकीमा काम अघि बढेको हो । पशुपतिमा सफलता, भव्य र सभ्य रुपमा कोटिहोम सम्पन्न गरेका थियौं । त्यसपश्चात अर्को प्रदेशमा कार्यक्रम गर्ने लक्ष्य अनुसार अहिले गण्डकीमा आइपुगेका हौं,’ उनले भने,‘ पशुपतिमा १० कुण्डको कोटिहोम थियो भने यहाँ पोखराको सय कुण्ड कोटिहोम हो । पशुपतिमा भगवान शिवलाई प्रसन्न बनाउन आयोजित थियो भने गण्डकी गायत्री माताको प्रसन्नताको लागि शास्त्रमा वर्णन भएको सय कुण्डिय कोटीहोमको परिकल्पना गरेर पोखरामा चार सय ब्राह्मणहरुद्वारा एक महिनाभन्दा बढि समयदेखि हवन गरिरहेका छौ ।’

त्यस्तै पशुपतिमा भन्दा पोखरा कोटिहोममा अन्य भिन्नता पनि रहेका छन् । पोखरा कोटिहोम सांस्कृतिक, धार्मिक महामहोत्सव भएकाले यहाँ ११ हजार कलश पुजन गरिएको छ । ११ हजार शालिग्राम पुजन, विभिन्न वक्तित्वकला प्रतियोगिता, ५ सयभन्दा बढि समुहको भजन प्रतियोगिता चलिरहेको छ ।

पशुपति कोटीहोमभन्दा थप व्यवस्थित पोखरा कोटीहोमलाई बनाइएको उनको दाबी छ । गुरु विजयकृष्ण मूर्तिले कोटिहोमलाई अझै सुधार गर्नुपर्ने बताए । गण्डकी कोटिहोम कुनै जात, धर्म, समूह र सम्प्रदाय विशेष नभएर नेपालभित्र रहेका धार्मिक, सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने, धार्मिक पर्यटकीय रुपमा नेपाललाई अगाडि सार्ने उद्देश्य समिटिएको उनको भनाइ छ ।

उनका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीमा यज्ञ आयोजना गरी संकलित चन्दाले करिब तीन रोपनी जमिन खरिद गरिएको बताए । त्यहाँ १ करोड ११ लाख चन्दा संकलन भएकोमा अन्य पशुपति कोटिहोमबाट आम्दानी भएको रकम थप गरी जग्गा खरिद गरेको र आश्रमको नाममा जमिन आइसकेको उनले जानकारी दिए ।

गण्डकी कोटिहोमबाट प्राप्त रकमले ताथलीकै जग्गामा आश्रम बनाउने लक्ष्य रहेको सुनाए । नेपालका धेरै जिल्लामा अलपत्र परेको आमाबुबाहरुलाई राख्न सयौ जनाले आवेदन दिएको भएपनि उनीहरुलाई राख्ने भवन निर्माण गर्न नसकेको गुनासो गरे । अहिले नेपाल सरकार र बाहिरबाट सहयोग प्राप्त नभएको बताउँदै उनले सहयोगको अपेक्षा समेत गरेका छन् ।

‘गण्डकी कोटिहोमबाट पनि केही भक्तहरुले राम्रो आश्वासन दिनु भएको छ । यहाँबाट पनि केही रकम प्राप्त भएपछि त्यहाँ भवन बनाउने काम गर्ने छौ । कुनै कुनै ठाँउमा गरेको हवन, यज्ञ र सप्ताहा गरेर जम्मा भएको रकम पनि आमाबुबाहरुको स्वास्थ्य उपचार, हेरविचार, खानपिन गर्नको लागि पनि वितरण गरेका छौं,’ उनले भने,‘८६ जना बालबच्चाहरुले ललितपुरमा आश्रय लिनुभएको छ । दर्जनौ आमाबुबाले भक्तपुरमा आश्रय लिनु भएको छ । उहाँहरुका निम्ती सहयोग जुटाउनुपर्ने छ,’उनले भने ।
‘नेपालका धेरै जिल्लामा अलपत्र परेको आमाबुबाहरुलाई राखिदिनुपर्यो भनेर सयौ जनाले आवेदन दिनु भएको छ । हामीले उहाँहरुलाई राख्ने भवन निर्माण गर्न सकिरहेका छेनौ । अनाथ बच्चाहरुको लागि सयौं आवेदनहरु आएका छन् ।

उहाँहरु सबैलाई राख्ने प्रयास हामीले गरेका छौ,’ उनले अगाडि भने,‘त्यसको लागि ठूलो भवन, स्रोत साधन, रकम चाहिन्छ । यस्ता यज्ञको माध्यमबाट एकदमै मनकारी दानवीरहरु जोडिनु हुन्छ । दैनिक खर्च चलाउन पनि सजिलो हुन्छ । अहिले नेपाल सरकार र बाहिरबाट भने सहयोग प्राप्त गरेको अवस्था छैन् तर सहयोगको अपेक्षा भने गरेका छौं,’ उनले भने ।


प्रतिक्रिया