कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल

NepalOne १७ जेठ २०८२ ७:४०
अध्यात्म

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको शुक्रबार साँझ भव्य बिदाई गरिएको छ ।

कोटहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले नेपाली काठमा हातले शिवको तस्बिर कुँदिएको मायाको चिनोसहित उनको बिदाई गरेका हुन् । बिदाईमा महाराज, कोटीहोम आयोजक समितिका सहसंयोजक युवक लामिछानेलगायतले देवीलाई डालाका डाला पुष्पार्पण गरेका थिए ।

उनको बिदाईमा कोटीहोम स्थल दुलही अन्माएपछिको घर जस्तै बनेको थियो भने रातिसम्म बसेका हजारौँ भक्तजन भावविह्वल बनेका थिए ।

सो अवसरमा बोल्ने क्रममा महाराजजीले बोल्ने आँटै नआएको भन्दै भावुक बन्न खोजे तर सम्हालिएर बोले । हामी सबै पृथ्वीमा निकै छोटो समयका लागि आएको भन्दै उनले गण्डकी कोटीहोम अत्तराद्र्धमा आएको र देवी प्रतिभा सबैको मन मुटुमा बस्न सफल भएको बताए ।

‘देवी प्रतिभा जसको बारेमा जसले जति लेखे पनि कमै हुन्छ, सर्वगुणले भरिपूर्ण हुनुहुन्छ, उहाँका प्रत्येक वाणी अमृत सरह हुन्छ ।’ उनले प्रशंसा गरे ।

‘देवी प्रतिभाले भारतमा कैयौँ कार्यक्रम छाडेर, ४५ घण्टा भन्दा लामो यात्रा गरेर पोखरा आउनु भयो, यो जत्तिको महत्वपूर्ण अन्य केही हुन सक्दैन,’ महाराजले भने, ‘देवी प्रतिभा र राधिका दासी मेरा दुई नयन हुनुहुन्छ ।’

उनले भावकु हुँदै थपे, ‘बिदाई शब्द सुन्नै चाहन्न तर बाध्यताले नै बिदाईका लागि म मञ्चमा उभिइरहेको छ, मेरा गोडा लगलग कापिरहेका छन् ।’ महाराजजीले यसो भनिरहँदा देवी प्रतिभाका आँखाबाट बर्बर्ती आँसु खसिरहेका थिए ।

महाराजजीले नेपालको सात वटै प्रदेशमा कोटीहोम सञ्चालन गर्ने उद्घोष गरे । कोटीहोममा देवी प्रतिभाको यो सहभागिता दोस्रो हो । उनले यसअघि पनि १४ दिनसम्म प्रवचन दिएकी थिइन् ।

उनको बिदाईमा ‘देवीजी दोस्रो चोटी पोखरा आउनु भो, हामीलाई मोहनी लाउनुभो’ जस्ता संगीतमय गीत प्रस्तुत गरिएको थियो । गीतमार्फत नै पोखरेलीलाई कहिल्यै नभुल्न देवीसँग आग्रह गरिएको थियो । देवीको टिममा सहभागी सबैलाई सम्मानसहित बिदाई गरिएको थियो ।


प्रतिक्रिया